असी वसन्त पार गरिसकेका संस्कृतिविद् हरिराम जोशी साहित्य साधनामा अझै सक्रिय हुनुहुन्छ। आफ्नो अध्ययनप्रतिको गहिरो रुचिका कारण सधैं तन्नेरी देखिन्नुहुन्छ, जोशी।
जोशीले ६ दशकभन्दा बढी समयदेखि अनवरत रूपमा नेपालका इतिहास, धर्म, संस्कृतिको गहन अध्ययन गर्दै आउनुभएको छ।
यसै क्रममा यही साता जोशीको ‘अभिनव वेदादी कोष’ शीर्षकको पुस्तक प्रकाशित भएको छ। सो पुस्तक वैदिक तथा विभिन्न कालखण्डका धर्म, संस्कृति, समाज तथा राजनीतिक व्यवस्थाको व्याख्या गरिएको पुस्तक हो। वेदका पन्नापन्ना पल्टाएर त्यहाँका श्लोक उद्धृत गर्दै सो पुस्तक लेखिएको छ।
पुस्तकमा विभिन्न कालखण्डको सामाजिक व्यवस्थाको चर्चा छ। इतिहास, धर्म संस्कृति, राजनीतिलाई समेटिएको छ। हरेक पृष्ठमा वेदका श्लोकहरू रहेका छन्। कुनै पनि सामाजिक व्यवस्थालाई व्याख्या गर्दा वा बुझ्दा सोही कालखण्डलाई मध्यनजर गर्नुपर्ने संस्कृतिविद् जोशीको भनाइ रहेको छ। ‘आजको समाजसँग ती व्यवस्था मेल नखान सक्छन’, उहाँले भन्नुभयो– ‘यसको मतलव ती व्यवस्था सबै गलत थिए भन्न मिल्दैन।’
आजको पुस्ताले आधुनिकतालाई आत्मसात् गरेका छन्। कतिपय अवस्थामा युवावर्गबाटै मौलिक तथा लोकसंस्कृतिको अवमूल्यन गरेको पनि पाइन्छ। धर्म, संस्कृति तथा परम्परा समयअनुसार परिमार्जन गर्दै लग्नुपर्छ।
तर त्यसको वास्तविक मर्म र महत्व नबुझी व्याख्या गरियो भने हामीले सही अर्थमा हाम्रा धर्म परम्परालाई गहिरिएर अध्ययन नगरेको प्रस्ट हुने पनि जोशीको धारणा छ। धर्म, संस्कृतिलाई गहिरिएर अध्ययन गर्नुपर्ने पनि उहाँको जोड रहेको छ।
प्राचीन नेपाल, नेपालको प्राचीन अभिलेख, उत्तर प्राचीनकालीन मुद्रा, मध्यकालीन अभिलेख, मेडिएभल कोलोफोन्स, नेपाली संस्कृति, हाम्रो संस्कृति, हिन्दू देवीदेवता, प्रदीप अभिनव विश्वकोश, नेपालका चाडपर्व, अभिनव संस्कृति कोष, पञ्चपल्लवलगायत नेपाली संस्कृतिमाथि झन्डै तीन दर्जन पुस्तक लेखिसक्नुभएको छ, जोशीले।
गुणराज पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, २०६२ सालमा संस्कृति शिरोमणि सम्मान र डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार पाएका जोशी नेपालको संस्कृति र पुरातत्व अध्ययनमा रुचि राख्नेका लागि जोशी आफैंमा एक विश्वविद्यालय हुनुहुन्छ।
आफ्नो ढल्किँदो उमेरमा पनि इतिहास, संस्कृतिको क्षेत्रमा निरन्तर कलम चलाइरहेका जोशीको योगदानलाई समाज र सरकारले खासै चासो दिएको भने छैन। तर आफ्नो कार्यप्रति सधैं निष्ठावान् भएर लाग्ने जोशी आफू ओझेलमा परेकोमा कसैप्रति गुनासो पोख्नुहुन्न। उहाँले भन्नुभयो– ‘आफ्नो कर्म गर्दै जाने हो यसमै सन्तुष्ट छु।’
प्रतिक्रिया