जिल्ला स्तरीय समिक्षा गोष्ठी : समन्वय नहुँदा विकास भएको पत्तो भएन


मोतीराम तिमल्सिना, काभ्रे । 

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०७५/२०७६ मा जिल्लामा संचालित विकास कार्यक्रम तथा आयोजनाहरुको समिक्षा गरेको छ । समन्वय समितिका प्रमुख उद्धव केसीले स्थानीय तह र कार्यालयहरुले गरेका प्रगति, कानुनी अड्चन तथा सकारात्मक पक्षहरुका बारेमा छलफल हुनेछ ।

संघ, प्रदेश र स्थानीय सरकारबाट विनियोजन गरेको रकमबाट संचालन भएका योजनाहरुको कार्यान्वयनमा समन्वयको अभाव रहेको स्थानीय सरकारका प्रमुखहरुले बताएका छन् । संविधानत खारेज हुने भनिएका कार्यालयहरु प्रदेश र संघ मातहत रहने गरी कार्यरत रहे पछि स्थानीय सरकारको अधिकार हस्तक्षेप भएको सरकार प्रमुहरुले बताएका छन् । कृषि ज्ञान केन्द्रले प्रदेश सरकार मातहत रहेर खनिएका सडकहरुका बारेमा आफुलाई जानकारी नभएको तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं लामाले बताउनु भयो । कृषि ज्ञान केन्द्रका प्रमुख डा. जनार्दन खड्काले प्रदेश सरकारले आर्थिक वर्षको केहि महिना बाँकी हुँदा सडकका लागि बजेट विनियोजन गरेको बताउनु भयो ।

त्यतिबेला कार्यालय प्रमुखका रुपमा कृष्णभद्र अधिकारी हुनुहुन्थ्यो । उहाँको सरुवा भईसकेको छ । तेमाल गाउँपालिकामा खनिएको सडकका बारेमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र जनप्रतिनिधिहरु कसैले पनि जानकारी छ नभनेपछि जनार्दन खड्का अलमलमा पर्नु भयो । प्रदेश सरकारले कार्यालयको उदेश्य भन्दा फरक ढंगले पठाएको रकमको सदुपयोग भन्दा दुरुपयोग भएको सहभागिहरुले बताएका छन् ।

दुई दिने समिक्षा कार्यक्रममा प्रतिनिधि सभा सदस्यहरु, प्रदेश सभा सदस्यहरु रत्न ढकाल, चन्द्र लामा, गोमा भुर्तेल, समन्वय समिति उपप्रमुख मञ्जु गौतम, नगरपालिका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिना, नगरपालिका उपप्रमुखहरु, गाउँपालिका अध्यक्षहरु, उपाध्यक्षहरु, सुरक्षा निकायका प्रमुखहरु, जिल्ला समन्वय अधिकारी सच्युतराज उप्रेति, विषयगत कार्यालयका प्रमुखहरु, नगरपालिका तथा गाउँपालिकाका प्रशासकिय अधिकृतहरु, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना लगायतको समिक्षा गोष्ठीमा सहभागिता रहेको थियो । प्रत्येक कार्यालयले गरेका गतिविधिहरु १५ मिनेटमा प्रस्तुत गरिएको थियो ।

कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र, स्वास्थ्य कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, जलश्रोत तथा सिंचाई डिभिजन कार्यालय, डिभिजन बन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, पूर्वाधार विकास कार्यालय, आवास तथा शहरी विकास डिभिजन कार्यालय, राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण, जिल्ला आयोजना समन्वय इकाई, शिक्षा, भवन, शिक्षा विकास तथा समन्वय ईकाई, आलु सुपरजोन परियोजना र विद्युत्त प्राधिकरण लगायतका कार्यालयले प्रस्तुतीकरण गरेका थिए ।

जिल्लामा रहेका ७ वटा गाउँपालिका महाभारत, खानीखोला, चौरीदेउराली, भुम्लु, बेथान्चोक, तेमाल र रोशी गाउँपालिकाले प्रगति र समस्या प्रस्तुत गरेका थिए । शुक्रबार नगरपालिकाहरुले प्रस्तुती गरेपछि समिक्षा गोष्ठी निश्कर्ष सहित समापन हुने प्रमुख उद्धव केसीले जानकारी दिनुभयो ।