आरोपको प्रतिकारमा हत्या


न्युज अफ नेपाल,  हेटौंडा ।

लामो समयदेखि आपसी झगडा तथा विवादका कारण धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ । पूर्वी मकवानपुरको बकैया गाउँपालिका–३, जलजलेमा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या गरिएको हो । अन्य दुई जना घाइते भएका छन् । उनीहरुको टाउको, निधारमा चोट लागेकोले दुवैको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

राति घरमै रहेकी ५४ वर्षीया सन्तमाया लोलाई बुधबार राति सोही ठाउँ बस्ने ५० वर्षीय सुकराम पाख्रिनले धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।

धारिलो हतियार प्रहार गर्दा घाइते भएकी सन्तमायाको हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा उपचारका क्रममा राति करिब दश बजे मृत्यु भएको हो । घटनामा घाइते हुनेमा मृतकका ५५ वर्षीय पति कालबहादुर लो र स्थानीय २६ वर्षीया बिबीमाया मोक्तान छन् ।

हत्यामा संलग्न पाख्रिनलाई इलाका प्रहरी कार्यालय फापरबारीले राति नै हतियारसहित पक्राउ गरेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा राखिएको र थप अनुसन्धान भइरहेको उपरीक्षक सिंहले जानकारी दिनुभयो । मृतक परिवारले बिगतमा सुकरामप्रति विभिन्न प्रकारका आरोप लगाउने गरेकाले उनी आक्रोशित भएर हत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ ।