उपनिर्वाचनमा उम्मेदवार सिफारिस गर्न नेकपाको निर्देशन, संगठन विभागमा तीन सदस्य थपिए

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले आगामी मंसिरमा हुने उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस गरेर केन्द्रमा पठाउन निर्देशन दिएको छ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले आगामी उपनिर्वाचनका लागि कात्तिक १० गतेभित्र उम्मेदवारहरूको नाम सिफारिस गरी केन्द्रमा पठाउन प्रदेश कमिटीलाई निर्देशन दिएको हो।

बैठकले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको सम्बन्धमा सम्बन्धित निर्वाचन क्षेत्रस्तरको कमिटी र जिल्ला कमिटीसँग परामर्श गरी ३ जनाको नाम सिफारिस गरी कात्तिक १० गतेभित्र केन्द्रमा पठाउन प्रदेश कमिटीलाई निर्देशन दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो।

निर्वाचन क्षेत्रीय कमिटी नबनेको स्थानमा जिल्ला कमिटीले सिफारिस गर्ने तथा प्रदेशसभाको सदस्यको हकमा पनि त्यही कुरा लागू गर्ने निर्णय बैठकले गरेको उहाँले जानकारी दिनुभयो।स्थानीय नगरपालिका वा गाउँपालिकाहरूको नगर प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षको उम्मेदवारका लागि भने सम्बन्धित गाउँ वा नगरकमिटी र जिल्ला कमिटीको सिफारिसमा प्रदेश कमिटीले गर्ने पार्टीले निर्णय गरेको छ।

वडाको हकमा सम्बन्धित वडा कमिटी वा गाउँ/नगरकमिटीको सिफारिसमा जिल्ला कमिटीले उम्मेदवारको चयन गर्न सक्ने प्रवक्ता श्रेष्ठले बताउनुभयो। बैठकले पार्टीको संगठन विभागलाई तीन जना सदस्य थप गर्दै विस्तार गर्ने निर्णय गरेको छ।

बैठकले संगठन विभागमा अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई चयन गरेको छ। यसअघि नै संगठन विभाग प्रमुखमा वामदेव गौतम र उपप्रमुखमा जनार्दन शर्मालाई सचिवालयले चयन गरिसकेको छ। पछिल्ला सदस्यसहित संगठन विभाग ५ सदस्यीय भएको छ।