इन्द्र गिरी, संखुवासभा।संखुवासभाको भोटखोला गाउँपालिका–२ लिङ्गमको घट्टेखोलामा ५ किलो सुनसहित २६ वर्षीय तोप्चेन भोटे पक्राउ परेका छन्। अवैधरूपमा झोलामा लुकाएर जिल्ला सदरमुकाम खाँदबारी ल्याउँदै गर्दा सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्लाकै मकालु गाउँपालिका–४ घर भएका भोटे हाल खाँदबारीको १ वडामा बस्दै आएका थिए।जिल्लाको किमाथांका नाका हुँदै तिब्बतबाट ठूलो परिमाणको सुन आउँदै गरेको सुराकीको आधारमा प्रहरी चौकी चेपुवाको टोलीले जाँच गर्दा उनको झोलाबाट ५ किलो सुन बरामद गरिएको प्रहरी नायब उपरीक्षक मीमबहादुर लामाले बताउनुभयो।
उहाँले बरामद गरेको ५ किलो सुनको मूल्य ३ करोड ७ हजार बराबरको रहेको र संखुवासभामा यति ठूलो परिमाणको सुन बरामद गरिएको पहिलो घटना भएको जानकारी दिनुभयो।
भोटे सुन ओसारपसार गर्ने भरिया हुनसक्ने बताइएको छ।
भोटेको साथबाट बरामद गरिएको सुन थप कानुनी प्रक्रिया अघि बढाउन राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ। सुन तस्करमा संलग्नताबारे थप अनुसन्धान भइरहेको बताइएको छ।उक्त स्थान खाँदबारीबाट गाडी र पैदल गरी २ दिन टाढा रहेकाले भोटेलाई सोमबारै पक्राउ गरेर पनि सदरमुकाम ल्याउन समय लागेको थियो।











प्रतिक्रिया