राष्ट्रपति भण्डारी म्यानमारको भ्रमणमा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।म्यानमारको औपचारिक भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार सो मुलुक प्रस्थान गर्नुभएको छ। म्यानमारका राष्ट्रपति ऊ विन मिन्टको निमन्त्रणामा उहाँ पाँचदिने राजकीय भ्रमणका लागि त्यता प्रस्थान गर्नुभएको हो।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले समकक्षी मिन्टसँग द्विपक्षीय वार्ता गर्ने, युनेस्कोको विश्व सम्पदा बगान र राजधानी ने पि तोको भ्रमण गर्ने कार्यतालिका तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। म्यानमार हुँदै राष्ट्रपति भण्डारी जापान भ्रमणमा समेत जानुहुनेछ।

जापानका नयाँ सम्राट् नारोहितोको राज्यरोहण समारोहमा सहभागी हुन उहाँ जापानको राजधानी टोकियो पुग्ने बताइएको छ। सम्राट् नारोहितोको राज्याभिषेक समारोह आगामी कात्तिक ५ गतेका लागि तय भएको छ। यसअघिका सम्राट् अकिहितोले उमेर र स्वास्थ्यको कारण देखाउँदै राजगद्दी त्याग्ने निर्णय लिएपछि नारोहितोले यही वर्षको मे महिनाबाट राजकाज सम्हाल्नुभएको थियो।

बुधबार म्यानमार प्रस्थान गर्नुभएकी राष्ट्रपति भण्डारी शीतलनिवासबाट हेलिकोप्टर चढेर सोझै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो। यसअघिका विदेश भ्रमणमा सडक मार्ग हुँदै विमानस्थल जाने गर्नुभएकी भण्डारी दुईपटकको कार्यकालमा पहिलोपटक हेलिकोप्टरमार्फत विमानस्थल पुग्नुभएको हो।

हेलिकोप्टरमार्फत राष्ट्रपति विमानस्थल पुगे पनि सडकमा बाक्लै संख्यामा सुरक्षाकर्मी परिचालन गरेपछि शीतल निवासदेखि विमानस्थल आसपासका अन्य सडकमा सवारी आवागमन प्रभावित बनेको थियो।