जस्मिन पेन्ट्स लिड प्रकरण – छठपछि कारबाही चलाउँछौं: महानिर्देशक

स्वास्थ्यमा लिडले गम्भीर असर पार्छ: विज्ञ

0
Shares

डीबी बुढाथोकी, काठमाडौं।जस्मिन पेन्ट्स प्रालिद्वारा उत्पादित रंगमा अत्यधिक लिड प्रयोग भएको विज्ञ र उपभोक्ताको गुनासो छ भने उत्पादक कम्पनी र गुणस्तर विभागले लिडको प्रयोग सार्वजनिक महत्वको विषय नै नभएको र विगतका समस्यामा सुधार गरिएको दाबी गरेका छन्।

वातावरण मन्त्रालयले तय गरेको मापदण्डअनुसार लिडको मात्रा ९० पीपीएम मात्र हुनुपर्दछ। तर, जस्मिन पेन्ट्समा ३६०० पीपीएम पाइएको छ।

जस्मिन पेन्ट्स प्रालिद्वारा उत्पादित पेन्ट्सको क्यालिब्रेसन, अभिलेखन र तौलमा कमी–कमजोरी रहेको तथ्य नेपाल गुणस्तर तथा नापतौल विभागको अनुगमनमा फेला परेको थियो। जस्मिन पेन्ट्सको उत्पादनमा कमी–कमजोरी भेटिए पनि स्पष्टीकरण सोध्नेबाहेक ठोस कारबाही भने भएको छैन।

उपभोक्ता अधिकारकर्मीले जस्मिन पेन्ट्सले कानुनलाई चुनौती दिँदै उपभोक्ता ठगी गरेकाले कारबाही हुनुपर्ने बताउँछन्। राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन भन्नुहुन्छ– ‘राजपत्रमा प्रकाशित मापदण्ड जोसुकैले पनि परिपालना गर्नुुपर्छ। वातावरण मन्त्रालयले तय गरेको मापदण्डअनुसार लिडको मात्रा ९० पीपीएम मात्र हुनुपर्दछ।

तर, जस्मिन पेन्ट्समा ३६०० पीपीएम पाइएको र तौल पनि भनिएभन्दा कम हुने गरेको थाहा भएको छ। लिड मानव स्वास्थ्यसँंग जोडिएको कुरा हो। नापतौल तथा गुणस्तर विभाग र उपभोक्ता संरक्षण ऐनको कानुनी प्रावधानअनुरूप उत्पादकलाई कारबाही हुनुपर्दछ।’

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिसिनाले पनि जस्मिन पेन्ट्सलाई छुट दिन नहुने धारणा राख्नुहुन्छ।उहाँ भन्नुहुन्छ– ‘नेपालको संविधान–२०७२ को धारा ४४ को खिलाफ हुने कुनै पनि हर्कत हामी उपभोक्ता अधिकारकर्मीलाई स्वीकार्य हँुदैन। गुणस्तर पूरा नगर्ने जुनसुकै कम्पनीलाई कारबाही हुनुपर्छ। मिडियामा आएको कुराको सत्यतथ्य के हो नापतौल तथा गुणस्तर विभागले सर्वसाधारणलाई जानकारी गराउनुपर्छ।’

‘विगतमा कमी–कमजोरी रहेको हामी स्वीकार गर्दछौं, तर कमजोरीहरू पूरै सुधार गरिसकिएको छ।’ –कम्पनीका निर्देशक मधुसूदन अर्यालले नेपाल समाचारपत्रलाई बताउनुभएको छ। कम्पनीका निर्देशकले भन्नुभयो– ‘हाम्रो कम्पनीलाई सरकारले बन्द गर्यो भनेर कतिपय उपभोक्ता अधिकारकर्मीहरूले सार्वजनिकरूपमा भनेको सुन्दा हामीलाई दुःख लागेको छ।’

समाचारपत्रसँगको कुराकानीमा नापतौल तथा गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनी जस्मिन पेन्ट्स प्रालिप्रति उदार देखिनुभयो। लिडको मात्राका सम्बन्धमा उहाँले भन्नुभयो– ‘क्वान्टिटी सामान्य नै पाइएको छ। जहाँसम्म क्यालिब्रेसनको सवाल छ, क्यालिब्रेसनकै कारण कम्पनीलाई कारबाही हुँदैन।

लिडको हकमा लिडकै कारण कसैको ज्यान गुमेको थाहा छैन। त्यसैले लिड पब्लिक इस्यु नै होइन।’‘जोखिम भन्ने कुरा एलपीजी ग्यासमा पनि नभएको होइन। पेन्ट्समा लिडको मात्रा ९० पीपीएम हुनुपर्दछ भन्ने मापदण्ड वातावरण मन्त्रालयले तय गरेको हो।

त्यो विभागको कार्यक्षेत्र पर्दैन। तथापि पेन्ट्स विषयमा सिकायत नआएको होइन। छठपछि केही कम्पनीहरूलाई चयन गरी परीक्षण गर्ने योजना बनाएका छांै।’ –उहाँले बताउनुभयो।
जस्मिन पेन्ट्सको स्थापना २०५१ सालमा भएको हो।

२४ वर्ष पूरा गरिसकको कम्पनीले इन्टरियर पेन्ट्स, एक्सटरियर पेन्टस्, प्राइमरअन्डर कोल्ड, मेटल एन्ड उड फिनिस, पावरबेस कलर, वाटर प्रोपाइलिङ ३ सयभन्दा बढी सोफटिकेटेट मसिनहरूबाट उत्पादन गर्दै आइरहेको छ।

‘नेपाली मनको नेपाली रङ’ स्लोगनसहित चर्चित अनुहार मदनकृष्ण श्रेष्ठ र हरिवंश आर्चायद्वारा विज्ञापन गराएको छ। कम्पनीले २०७४ मा कार, स्कुटरलगायत दैनिकरूपमा हात खाली नजाउने उपहार योजना आगाडि बढाएको थियो।

त्यस्तै मुनाफाभन्दा उपभोक्ता हितलाई ध्यानमा दिएको कम्पनीको जिकिर रहेको छ। सन् १९९४ मा स्थापित मनकामना गु्रप अफ कम्पनीजअन्तर्गत जस्मिन पेन्ट्सको अलावा जगदम्बा प्लास्टिक, सन केमिकल्स, एभोक्याडो इन्टरनेसनल, टाटा मेटल एन्ड क्राफ्ट र मिसिका फाउन्डेसन सञ्चालनमा छन्।

लिड विभिन्न रोगको स्रोत
विज्ञहरूका अनुसार रंगमा प्रयोग गरिने रसायनहरूले मानव शरीरमा विभिन्न रोग सिर्जना गर्दछन्। जस्मिन पेन्ट्सले प्रयोग गरेको भीओसीमा बेन्जाइन, मेथिलिन क्लोराइड, बुटाडाइन, पोलिसाइक्लिक अरोमेटिक हाइड्रोकार्बनलगायतका रसायनको मिसावट छ।

‘यो क्यान्सरको मुख्य स्रोतमध्ये एक हो। यसको प्रयोगबाट मानिसमा टाउको दुख्ने, दम बढ्ने, जिउ चिलाउने जस्ता रोगको संक्रमण हुन्छ। मानव स्वास्थ्यका साथसाथै वातावरणका लागि पनि यो घातक हुने विभिन्न अनुसन्धानले देखाएको छ।’ –विज्ञको भनाइ भन्दै गुगल खोज उल्लेख गर्दछ। खास गरी गर्भवती महिला र शिशुका लागि लिड निकै घातक मानिन्छ।

यो हेर्नुहोस् भिडियो…..

https://youtu.be/_tCJtaH6wX4