नेकपाको चियापानमा के–के भयो चर्चा ?

0
Shares

मधुसूदन रायमाझी, काठमाडौं।सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा चीनका राष्ट्रपति सी जिनपिङको भ्रमणदेखि सभामुख कृष्णबहादुर महरा पक्राउसम्मको चर्चा भएको पाइएको छ।

उक्त अवसरमा सत्तारूढ दल नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपति सी भ्रमणमा भएका उपलब्धिको चर्चा गर्नुभएको थियो।

दशैंतिहार, नेपाल संवत् तथा छठ पर्वको अवसर पारेर आयोजित चियापान कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले छिमेकी मुलुकसँगको सम्बन्ध सुधार र मुलुकभित्र नयाँनयाँ आयोजनाको थालनी गरेर नेपाल विकास र समृद्धिको नयाँ बाटोमा अघि बढेको बताउनुभयो।उहाँले कानुनी राज्य पालना, सुशासन कायम, भ्रष्टाचारमुक्त र संस्कारयुक्त समाज निर्माण गर्न लाग्नुपर्नेमा जोड दिनुभयो।

प्रधानमन्त्री ओलीले सरकारले वृद्धभत्ता वृद्धि, बिजुलीमा जनताको लगानीलगायतका विकास निर्माणको काम गरेको फेहरिस्त प्रस्तुत गर्नुभयो।नेपाल सांस्कृतिकरूपमा समृद्ध रहेको उल्लेख गर्दै विविधताको एकतालाई कसैले विखण्डन गर्न नसक्ने उहाँको भनाइ थियो।‘एकताको बलका आधारमा राष्ट्रिय एकतालाई थप सुदृढ बनाएर समृद्ध नेपाल सुखी नेपाली अभियान सफल बनाउनुपर्छ।’ –प्रधानमन्त्रीले भन्नुभयो।

आफ्नो नेतृत्वको सरकार बनेपछि वैदेशिक लगानी ४२ अर्बबाट ७६ अर्ब पुगेको बताउँदै नेपालको पानी जनताको लगानी कार्यक्रमबाट धेरै नेपाली जलविद्युत्को शेयरधनी बनेको र खोलौं बैंक खाता कार्यक्रमबाट जनता लाभान्वित भएको दाबी गर्नुभयो। अध्यक्ष प्रचण्डले नेपाल, भारत र चीनबीच आर्थिक विकासको त्रिदेशीय साझेदारीको नयाँ रणनीतितर्फ जाने आधार तयार हुँदै गएको बताउनुभयो।

उहाँले चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणपछि अहिले राजनीतिकरूपले नै उक्त रणनीतितिर जाने समझदारी बन्दै जान थालेको धारणा राख्नुभयो। चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा गरिएका सहमति र समझदारीले नेपाल नयाँ र उज्ज्वल भविष्यतर्फ लम्किएको बताउँदै प्रचण्डले सीबाट नेपाल अब भू–परिवेष्टितबाट भू–जडित देशमा परिणत गर्न चीनको सहयोग रहने प्रतिबद्धता आइसकेकाले मुलुक विकास, समृद्धि र समाजवादको तयारीको नयाँ युगतिर प्रवेश गरेको विश्लेषण गर्नुभयो।

उहाँले सी नेपालमा आएर सद्भाव, विश्वास र समझदारीको वातावरण बनेको चर्चा गर्दै यो अवस्थामा नेपालीको काँधमा ठूलो जिम्मेवारी आएको टिप्पणी गर्नुभयो।अहिलेको परिवर्तन र जनताको संघर्षको उपलब्धिलाई कसैले चुनौती दिन नसक्ने बताउँदै प्रचण्डले संसद्मा भएका सबै राजनीतिक दल संविधान, विकास र समृद्धिको नारामा एकमत रहेकाले एकताबद्ध भएर अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चियापानमा सहभागी हुन दिउँसो तीन बजे आइपुग्नुभएको थियो। नेकपाले दिउँसो १२ बजेदेखि ३ बजेसम्म नेता÷कार्यकर्ता र ३ बजेपछि विभिन्न दलका नेता र कूटनीतिक नियोगका अधिकारीलाई निम्तो दिएको थियो।

प्रधानमन्त्री ओलीसँगै बसेर चिया पिउनुभएका सभापति देउवाले मुखमा घाम परेपछि तपाईं (प्रधानमन्त्री)को चुनाव चि≈न सीधै मुहारमा पर्यो भनेर ठट्टासमेत गर्नुभएको थियो।
कार्यक्रममा छोटो समय बसेर बाहिरिने क्रममा कांग्रेसले चियापानको शुरुआत गरेको चर्चा गर्दै अरू पार्टीले पनि चियापान गर्नु राम्रो भएको प्रतिक्रिया दिनुभयो। चियापानजस्ता कार्यक्रमले विभिन्न पार्टीबीच आपसी सम्बन्ध बढ्ने र राष्ट्रिय एकताको भावना फैलाउने सभापति देउवाको भनाइ थियो।

सोही अवसरमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक पद प्रतिपक्षी दललाई नदिए सदन र सडकमा विरोध गर्ने चेतावनी दिनुभयो। पौडेलले संवैधानिक व्यवस्था र संसदीय अभ्यासका आधारमा दुवै पद एकै दलले लिन नहुने र प्रतिपक्षीलाई एक पद दिइनुपर्ने बताउनुभयो।

दुई चरणमा सम्पन्न चियापानमा नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियो। अध्यक्षद्वय ओली र प्रचण्ड, पार्टीका वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, संगठन विभागका प्रमुख वामदेव गौतम, स्कुल विभाग प्रमुख ईश्वर पोखरेललगायत मन्त्री र नेकपाका नेताहरू सहभागी हुनुहुन्थ्यो।

दोस्रो चरणको कार्यक्रममा पार्टीका अध्यक्ष प्रचण्ड पूर्वनिर्धारित कार्यक्रममा चितवन जानुभएकाले सहभागी हुनुभएन।१२ बजेदेखि ५ बजेसम्म सञ्चालित चियापानमा विभिन्न राजनीतिक दलका नेता, मन्त्री तथा सांसद, संवैधानिक अंगका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सरकारका उच्च पदस्थ पदाधिकारीलगायतको सहभागिता रहेको थियो।

पिउने पानीको हाहाकार

चियापानमा एक लाख जनालाई निमन्त्रणा गरिएको पठाइएको थियो। सोहीअनुसार खानेकुराको तयारी गरिएको थियो।भृकुटीमण्डपमा चियापानका लागि पार्टीका नेता तथा कार्यकर्तासँगै निमन्त्रणा स्वीकार गर्दै पाहुनाहरू सहभागी भएका थिए। तर चिया र खाजा खान पाए पनि सहभागीहरूले पानी पिउन पाएका थिएनन्। पा

नी खोज्नेको संख्या ठूलो भए पनि पानीको जिम्मेवारी लिएका व्यवसायीले जाममा परेकाले समयमा ल्यान नसकेको जवाफ दिएको नेकपा केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘पानी पर्याप्त हुँदैन कि भनेर व्यवस्थापन गर्ने पक्षसँग कुरा गर्दागर्दै पनि समयमा पानी आइनपुग्दा व्यवस्थापनमा केही कमजोर हुन पुग्यो।’ कार्यालय सचिव ढकालले एक लाख निमन्त्रणा दिएकोमा चियापानमा ६० हजार सहभागी भएको दाबी गर्नुभयो।

महरादेखि सांसद पक्राउको चर्चा

चियापानमा निवर्तनमान सभामुख कृष्णबहादुर महरा नेता तथा कार्यकर्ताको चर्चाको विषय बन्नुभएको थियो। सभामुखको कारण जनतासमक्ष जवाफ दिन कठिनाइ भएको विषय नेता र कार्यकर्ताको बीचमा कानेखुसीसमेत भएको देखिन्थ्यो।

यसैगरी कांग्रेसका सांसद आलम र राजपाका सांसद प्रमोद साह पक्राउदेखि बुधबार मात्र सत्तारूढ दल नेकपाका सांसद पार्वत गुरुङलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको सन्दर्भ मुख्य गफगाफको विषय बनेको थियो।

सहभागी भएन राजपा

चियापानमा प्रतिपक्षी दल राजपाका नेता तथा कार्यकर्ताहरू सहभागी भएनन्। राजपाका अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले सरकारमा दम्भ बढ्दै गएकाले सहभागी नभएको प्रतिक्रिया दिनुभयो।

जनकपुर विमानस्थलमा तोडफोड गरेको आरोपमा आफ्ना सांसद प्रमोद साह पक्राउ गरेर सरकारले गलत काम गरेको निष्कर्ष राजपाले निकालेको छ। यादवले सांसद साहको स्वास्थ्यको संवेदनशीलतालाई विचार नगरी सामान्य घटनामा सरकारले पेल्ने काम गरेको आरोप लगाउनुभयो। एक सिट जितेको राप्रपाका अध्यक्ष कमल थापा भने उक्त कार्यक्रममा सहभागी हुनुहुन्थ्यो।

तस्वीर ः अनिल आङदेम्बे