दुई महिना अघि बिहे गरेकी युवती मृत फेला


न्युज अफ नेपाल, पर्वत ।

दुई महिना अघि बागलुङ्गमा बिहे गरेकी युवती कालीगण्डकी नदी किनारमा मृत फेला परेकी छन ।

बागलुङ्ग नगरपालिका वडा नं ३ मा बिहे गरेकी १८ बर्षिया बिजु जिसी मंगलबार दिउँसो कालीगण्डकी नदी किनारमा मृत फेला परेकी हुन ।
पर्वतको बिहादी गाउँपालिका वडा नं १ बाच्छामा पर्ने कालीगण्डकी किनारमा माछा मार्न गएका स्थानियले जिसीलाई मृत अबस्थामा फेला पारेका थिए । जिसी असोज १७ गते देखि हराउनुभएको थियो ।

पर्वत जिल्लाको जलजला गाउँपालिका वडा नं ५ लेकफाँट गैरागाउँ माइती भएकी जिसीले गएको भदौ २ मा बागलुङ्ग नगरपालिकाको गुठी निवासी ३४ बर्षिय असिम खड्का संग प्रेम बिबाह गर्नुभएको थियो । बिबाहपछि परिवारले अस्विकार गरेको र परिवारकै यातनाका कारण घर छाडेर हिडेको भनेर मृतकका माइती पक्षले खोजी गरिदिन जिल्ला प्रहरी कार्यालय बागलुङ्गमा निवेदन दिएका थिए ।

उनका श्रीमानले पनि खोजी गरिदिनका लागि निबेदन दिएका थिए । भागी बिबाह गरेका र केटीको उमेर समेत नपुगेका कारण बिबाह दर्ता समेत भएको छैन । माइती पक्ष भने छोरीलाई मानसिक र शारिरीक दबाब दिदै आएको हुनाले घटना घटेको दाबी गर्दै थप अनुसन्धान गर्नुपर्ने माग गरिरहेका छन । मृतकका सासु ससुरालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताइन्छ ।

मृतक जिसीको शब पोष्टर्माटमका लागि पर्वत जिल्ला अस्पताल कुस्मामा राखिएको छ । घटनाबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।