ठगी गरेको आरोपमा सहयोगी विकास बैंकका सञ्चालक सदस्य पक्राउ


काठमाडोँ । ठगी गरेको आरोपमा सहयोगी विकास बैंक जनकपुरको संचालक समितिका एक सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सदस्य दिपेन्द्र कुमार यादव (दिपु) रहेको प्रहरीले जनाएको छ । पक्राउ पुर्जी जारी भए लगत्तै फरार रहेका यादवलाई प्रहरीले बुधबार बलबा टोलस्थित आफ्नै घरबाट पक्राउ गरेको छ ।

जनकपुरधाम वडा नम्बर १० का लालबाबु रौनियारको धितो राखिएको जग्गा जालसाजी गरी बिक्री गरेको अभियोगमा जिल्ला अदालत धनुषाले यादवलाई गत साउन १३ गते पक्राउ पुर्जी जारी गरेको थियो । पीडित रौनियारले आफ्नो जग्गा फिर्ता नपाएपछि जग्गा दिलाइदिनका लागि अदालतमा मुद्दा दायर गरेका थिए।

८ वर्षअघि रौनियारले महोत्तरीको बर्दिवासस्थित ५ कठ्ठा जग्गा व्यक्तिगत रुपमा यादवकहाँ धितो राखी ५० लाख रुपैयाँ ऋण लिएका थिए। केही वर्षभित्रै सो ऋण वापत यादवलाई ७३ लाख रुपैयाँ चुक्ता गरेपनि जग्गा फिर्ता पाएनन्। जग्गा फिर्ता गर्न पटक पटक आग्रह गर्दा पनि जग्गा नपाएपछि पिडीतले ६ वर्षअघि जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेका थिए।

पक्राउ परेका यादवलाई आजै जिल्ला अदालत धनुषामा उपस्थित गराई म्याद थप गराउने तयारी रहेको प्रहरीले जनाएको छ ।