उपनिर्वाचन टरेपछि वडा अध्यक्षको राजीनामा

0
Shares

रोशन पराजुली,हेटौंडा ।

अमेरिकाको डाइभर्सिटी भिसा (डीभी) चिठ्ठा परेर भाग्यमानी बन्दै गाउँपालिकाका वडा अध्यक्ष अमेरिका पुगे पनि उक्त वडाका बासिन्दा भने अभागी देखिएका छन् । राजीनामापछि पनि स्थानीयले पुनः मताधिकार प्रयोग गर्न पाउने अबस्था हाललाई देखिएन ।

‘पारिवारिक व्यबस्थापनका लागि’ भन्दै अमेरिका पुगेका मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–८ का जननिर्वाचित अध्यक्ष जगत्मान घिसिङको राजीनामापत्र बल्ल गाउँपालिका कार्यालयमा आइपुगे पनि अब उक्त क्षेत्रमा उपनिर्वाचन हुने सम्भावना प्रायः टरेको हो ।

व्यापक जन दबाबपछि मकवानपुरको वडा अध्यक्ष घिसिङले अमेरिकाबाट राजीनामापत्र गाउँपालिका कार्यालयमा पठाउनुभएको हो । उहाँले करिब ७ महिनापछि राजीनामा पठाउनुभएको छ ।

उहाँले समयमै राजीनामापत्र नपठाउँदा उक्त क्षेत्रमा वडा अध्यक्षको पद नै रिक्त हुने अबस्थामा पुगेको छ । आगामी मंसिर १४ गतेका लागि तोकिएको उपनिर्वाचन आउन बुधबारबाट ४६ दिनमात्र बाँकी छ ।

निर्वाचन आयोगका लागि १ सय २० दिन तयारीमा लाग्ने गरेको जिल्ला निर्वाचन कार्यालय मकवानपुरका निर्वाचन अधिकारी गोबिन्दप्रसाद पौडेलले बताउनुभयो । परिस्थितिजन्य अबस्थामा भने निर्वाचन गराइएको देखिएको छ ।

उक्त वडाको उपनिर्वाचन गर्न अब मन्त्रिपरिषद् बैठकको निर्णयले मात्र सम्भव देखिएको छ भने मन्त्रिपरिषद्ले निर्णय नगरे वा ढिलो गरेमा वडाको उपनिर्वाचन हुन प्रायः असम्भव देखिएको छ ।

उहाँको राजीनामापत्र दशैंअघि आइपुगेको भए पनि कार्यपालिकामा बिदा भएकोले सोमबारमात्र दर्ता भएको उनका पत्रबाहक भतिजा सनतमान घिसिङले बताउनुभयो । उहाँले भदौ १ गतेदेखि लागु हुने गरी सोही मितिमा राजीनामापत्र लेख्नुभएको छ ।

वडा सदस्य नवराज अधिकारीलाई कार्यबाहक वडाअध्यक्षको जिम्मेवारी दिएर २०७५ चैत २७ गते वडा अध्यक्ष घिसिङ परिवारसहित अमेरिका उडेपछि स्थानीय विकास निर्माणलगायत काम/कारबाहीमा प्रभाव परेको स्थानीयको भनाइ छ ।
वडा अध्यक्षले आफू दशैंअघि नेपाल फर्किने मौखिक जानकारी दिनुभएको थियो

। तर, अमेरिकास्थित नेपाली दुताबास वासिङ्टन डीसी, सनफ्रान्सिस्को कन्सुलर सेवा टुरमुकामका प्रथम सचिव कुमार सुबेदीले प्रमाणित गरेको पत्र आइपुगेको छ ।

घिसिङले दुतावास कार्यालयमा स्वयम् पुगेर राजीनामापत्रमा सहीछाप र सनाखत गरेको उक्त पत्रमा उल्लेख छ । राजीनमापत्र भदौ १४ गते दुतावासमा दर्ता भएको देखिन्छ ।

राजीनामापत्रमा उहाँले आफूलाई उच्च विश्वासका साथ मत दिएर विजयी गराउने मतदाता, सहकर्मी, कर्मचारी आदिप्रति आभार व्यक्त गर्नुभएको छ ।
वडामा उपनिर्वाचनका लागि संघीय मामिला मन्त्रालयमा जानकारी पठाउने तयारी गरिएको गाउँपालिका अध्यक्ष हिदम लामाले बताउनुभयो ।

अध्यक्ष लामाले जननिर्वाचित वडा अध्यक्षको राजीनामा गाउँपालिका अध्यक्षले स्वीकृत गर्ने कार्यविधिमा उल्लेख नभएकोले आफूलाई समस्या परेको बताउनुभयो ।

कार्यविधिमा वडा अध्यक्षले ७ दिन भन्दा बढी बिदा लिँदा गाउँपालिकालाई जानकारी गराउनुपर्ने भनिए पनि कहिलेसम्म बिदा लिन पाउने भन्ने उल्लेख नभएको गुनासो अध्यक्ष लामाको छ ।

वैशाख ३१ गते सम्पन्न संघीय लोकतान्त्रिक नेपालको प्रथम स्थानीय तह निर्वाचनमा विजयी भएर घिसिङले जेठ ६ गते पदभार ग्रहण गर्नुभएको थियो ।

प्रदेश–३ का प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवसँग अध्यक्ष पद रिक्त रहेकोले मंसिर १४ मा हुने उपनिर्वाचनमा उक्त वडामा पनि निर्वाचन गर्न आवश्यक कानुनी प्रक्रिया अघि बढाउन आग्रह गर्नुभएको छ ।

नेता बानियाँले डीभी परेर अमेरिका गएका वडाअध्यक्ष घिसिङले राजीनामा पठाइसकेकोले तत्काल मन्त्रालयलाई निर्वाचन गराउने पहल गर्न आग्रह गर्नुभएको छ ।

वडाका स्थानीयले उपनिर्वाचन गराउन भन्दै करिब ४ साताअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन कार्यालय मकवानपुर, अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय तथा गाउँपालिकामा निबेदन दर्ता गराएका थिए ।

कर्मचारीलाई डीभी परेर गए स्वतः जागिर छोड्नुपर्ने व्यबस्था छ । तर, जनप्रतिनिधिका लागि भने के गर्ने भन्ने स्पष्ट कानुन छैन । जनताका सेवाका लागि निर्वाचित व्यक्ति विदेशकै नागरिक हुने गरी जान पाउने कि नपाउने भन्ने बहस हुने गरे पनि यसबारे ठोस कानुनको अभाव छ ।

तत्कालीन नेकपा एमालेबाट उठ्नुभएका घिसिङले ५ सय १४ मत ल्याएर वडा अध्यक्ष जित्नुभएको थियो भने उहाँका प्रतिस्पर्धीहरु राप्रपाका सुन्दर कुँवरले २ सय २३ र नेपाली कांग्रेसका दीपेशकुमार विश्वकर्माले १ सय ९१ मत ल्याउनुभएको थियो ।