सन् २०१२ मा सी जिनपिङ चीनको राष्ट्रपतिमा छनोट भए। त्यसपश्चात् उनले अघि सारेको आर्थिक समृद्धि, भ्रष्टाचार नियन्त्रणजस्ता कार्यक्रमका साथै बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) जस्ता महत्वाकांक्षी योजनाले गर्दा विश्वको ध्यान चीनतर्फ केन्द्रित रहेको छ।
उनले अघि सारेको चिनियाँ विशेषतासहितको समाजवादको विचारधाराले उनलाई विश्व राजनीतिमा एक वैचारिक एवं शक्तिशाली राष्ट्रप्रमुखका रूपमा स्थापित गरेको छ।सन् १९४९ मा चीनमा भएको जनवादी क्रान्तिपश्चात् गृहयुद्धले थिलथिलो पारेको चीनलाई एकढिक्का बनाई समृद्धिको बाटोमा हिँडाउन माओत्सेतुङले गरेको योगदान, साथै सांस्कृतिक क्रान्तिको असफलतापछि चीनलाई अर्थिक एवं सामाजिक रूपान्तरणमार्फत नयाँ मोडमा लैजान देङ सियाओ पिङले गरेको योगदानका कारण चीन आज विश्व जगतमा एक शक्तिशाली राष्ट्रका रूपमा स्थापित भएको छ।
त्यस सँगसँगै वर्तमान राष्ट्रपति सी जिनपिङले आगामी सन् २०५० सम्म चीनलाई संसारकै समृद्ध एवं समुन्नत समाजवादी मुलुक बनाउन अघि सरेका छन्।सीको विचारधाराले मुख्यतः समृद्ध एवं नियन्त्रित समाजको निर्माण, गरिबी उन्मूलन तथा ग्रामीण क्षेत्रको विकास योजनामा गहन सुधार, कानुनी शासनको अधीनमा रही राज्य सञ्चालन, पार्टी अनुशासनमा कडाइ जस्ता कुरामा जोड दिएको छ।
चिनियाँ कम्युनिस्ट पार्टीलाई जनताप्रति बढी उत्तरदायी बनाई जनचाहना मुताविक पार्टी सञ्चालन गरी नेतृत्वलाई हरेक क्षेत्रमा उपस्थिति जनाउन यो विचारधाराले निर्देशित गरेको पाइन्छ।
शान्तिपूर्ण अन्तर्राष्ट्रिय वातावरण निर्माण गर्न चिनियाँ जनता र विश्वभरका जनताको एउटै लक्ष्य तथा उद्देश्य हुने कुरालाई केन्द्रित गर्दै विश्व पर्यावरणीय सुरक्षा, ऊर्जा संरक्षण, वातावरणीय संरक्षणलाई आफ्नो मुख्य विचारका रूपमा स्थापित गरेका छन्।
आफ्नो विचारधारा स्थापित गरेसँगै जनवादी गणतन्त्र चीनमा तीनवटा वैचारिक युग स्थापित भएका छन्, ती हुन्– माओत्सेतुङ युग, देङ सियाओपिङ युग र सी जिनपिङ युग। ‘नयाँ युगको चिनियाँ विशेषतासहितको समाजवाद’ अर्थात् सी जिनपिङ विचारधाराले पार्टीबाट वैधानिकता पाएसँगै चीन वैचारिक, आर्थिक र सैन्य शक्तिको रूपमा विश्वको अग्रणी राष्ट्र बन्न चाहेको कुरा स्पष्ट देखिन्छ।
बेल्ट एन्ड रोड इनिसियटिभ अर्थात् ‘बीआरआई’ मार्फत विश्वका मानव जातिको साझा भविष्य निर्माण गर्ने राष्ट्रपति सी जिनपिङको दूरदर्शिताले उनलाई एउटा अब्बल विश्वनेताका रूपमा हेरिन थालिएको छ।
आपसी हितका लागि संयुक्त प्रयास, न्यायोचित र समानतामूलक विश्व व्यवस्थाका लागि, मानव जाति तथा पृथ्वीको सुरक्षाका लागि सीले अघि सारेको हरित विकासको अवधारणाले चीनको मात्र नभई समग्र विश्व जगत्को हित चाहेको प्रस्ट देखिन्छ।
विश्वको साझा समृद्धि हासिल गर्न कनेक्टिभिटी, साझा प्रयत्न, साझा लगानी र उपलब्धिमा साझा स्वामित्वको अवधारणाले सी जिनपिङको विचारधारालाई विश्व व्यवस्थामा नयाँ कोशेढुंगाका रूपमा स्थापित गरेको छ।
श्रद्धा अर्याल, बाँसबारी, काठमाडौं।
प्रतिक्रिया