अहिले दैनिकजसो पत्रपत्रिकामा समाचार हेर्दा आत्महत्याका खबरहरूले भरिएको पाइन्छ। हामी अहिले २१औं शताब्दीमा छौं। नेपाल आर्थिक हिसाबले कमजोर भए पनि शान्त छ। हामी जतिजति विकसित हुँदै गइरहेका छौं त्यति नै मानसिक रूपले कमजोर पनि बन्दै गइरहेको स्पष्ट छ। विगत दुई महिनामा मुलुकमा आत्महत्या बढेको बढ्यै छ।
गणतन्त्र आएपछि देशमा राजनीति सुधार होला, प्रशासनिक सुधार होला, हिजोको दिनमा भएको बेथिति कम होला भन्ने जे–जस्तो सोचिएको थियो आज त्यसविपरीत काम हुँदै जान थाल्यो। पैसाका लागि जेजस्तो पनि काम हुने संस्कृतिको उदयपछि भ्रष्टाचार झन् दिन दुई गुणा रात चौगुणा मौलाएर गयो। अहिले प्रहरीको अनुसन्धान अगाडि बढेपछि आत्महत्या गर्ने क्रम पनि बढेर गएको छ।
बहुचर्चित ३३ केजी सुन काण्डमा सुनको कारोवारी सनम शाक्यको हत्यापछि यस घटनासंँग सम्बन्धित केही व्यक्तिले आफैं आत्महत्या गरेको कुरा बाहिर आइरहेको छ। अहिले सबैलाई पैसा चाहिएको छ त्यो चाहे वैधानिक होस् चाहे अवैधानिक, बस पैसा भनेपछि सबै यसैको पछाडि दौडिरहका देखिन्छन्।
अवैधानिक तरिकाले सम्पत्ति आर्जन गरेकाहरू केही समयलाई झकिझकाउ देखिए पनि आखिर समाजिक निष्ठा गुपाउँछन् नै। त्यसैले अहिले कयौं मान्छेले आत्महत्या गरिरहेको देखिन्छ। सबै आत्महत्या एकै प्रकृतिको छैन र हँुदैन पनि। कतिपय आत्महत्या कसैलाई जबर्जस्ती गर्न बाध्य पारिन्छ भने कसैले आफूले नै गर्दछन्।
तर, पछिल्लो समय सरकारले ल्याएको नयाँ मुलुकी संहितामा कसैलाई मर्न बाध्य बनाएको प्रमाणित भए ५ वर्ष जेल र ५० हजार रुपियाँ जरिवाना तोकेपछि मुद्दाको चाप पनि बढेको छ। तर न्याय कतिपयलाई मिल्छ तर कतिपयलाई मिल्दैन। जिन्दगी भनेको जिउनका लागि हो। अनाहकमा जिन्दगी आत्महत्या गरेर खेर फाल्नका लागि हैन।
जिन्दगीमा सबैभन्दा ठूलो काम भनेको संघर्ष गर्ने नै हो। जतिसुकै बाधा अड्चन आएपनि धैर्यता टुटाउनुहुँदैन। साच्चै भन्दा आत्महत्या कायरहरूले मात्रै गर्छन्। भ्रष्टाचार गर्ने बेलामा दायाँ–बायाँ कहींकतै हेर्न नपर्ने अनि जब सामाजिकरूपमा कुरा उठ्छ अनि आत्महत्या गर्ने। यस्ता कायर र भ्रष्टाचारीका लागि समाजमा कुनै ठाउँ छैन।
अहिले सामाजिक सञ्जालमा सकारात्मक भन्दा पनि नकारात्मक कुरा नै बढी लेखेको पाइन्छ। यसले गर्दा पनि समाज भ्रष्टीकरण भइरहेको छ। यस्तै नकारात्मक कामका कारणले पनि दिनहुँजसो आत्महत्या गर्ने गरेको खबर सुन्नुपर्ने बाध्यता कायमै छ। जे भए पनि आत्महत्या गर्नुलाई राम्रो मान्न सकिँदैन, यसलाई निरूत्साहित गर्दै जानुपर्छ।
शीतल पौडेल, लामाचौर, पोखरा
प्रतिक्रिया