सशस्त्र प्रहरी पहिरोको जोखिममा बस्न बाध्य


बैतडी, (नेस)। बैतडीमा रहेको सशस्त्र प्रहरी बलको गुल्म पहिरोको जोखिममा रहेको छ। सदरमुकामस्थित सशस्त्र प्रहरी बल नं ५१ गुल्म पहिरोको जोखिममा रहेको हो। गोठलापानी–गढी सडकस्तरोन्नतिका बेला गएको असारमा गुल्म तलतिर रहेको जमिन भासिएको बैतडीका सशस्त्र प्रहरी नायब उपरीक्षक अमित सिंहले जानकारी दिनुभयो।

३ महिनाभन्दा बढी समयसम्म पनि पहिरोको व्यवस्थापन नहुँदा समस्या भएको उहाँले बताउनुभयो।गुल्मतलतिरको जमिन भासिएकाले पानी परेको बेला जुनसुकै बेला पनि गुल्म भत्किने अवस्थामा पुगेको छ। पहिरो रोक्नका लागि सडकमाथितिर रहेको गुल्म मुनितिरवाट ग्वाविंगसहित पर्खाल हाल्नुपर्ने देखिएको छ।

शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना संशोधन एकाइ धनगढी कैलालीअन्तर्गत उक्त सडक स्तरोन्नती काम भइरहेको हो। उक्त सडक स्तरोन्नतिको ठेक्का भने केएस कन्सट्र«क्सन धनगढीले पाएको हो।

ठेक्का पाएको कम्पनीले दशैंलगत्तै गुल्ममुनितिर ग्याविंग पर्खाल हालिदिने भनेको गुल्म प्रमुख सिंहको भनाइ छ। यसका साथै उक्त सडकस्तरोन्नतिको काम भइरहेको हुँदा सदरमुकामस्थित गोठलापानी–गढी सडकमा आवतजावत गर्नसमेत समस्या हुने गरेको छ।