बीपी राजमार्गको तीन स्थानमा पुल बन्ने

0
Shares

काठमाडौं, (नेस)।क्रसर उद्योगका कारण बीपी राजमार्ग जोखिममा परेको छ। नियमविपरीत सञ्चालन भएको क्रसर उद्योगको कारण बीपी राजमार्ग बिग्रने क्रम बढेको छ। अत्यधिकरूपमा प्राकृतिक उत्खननका कारण सडकमा निर्माण गरिएका कजवे जोखिममा परेका छन्।

स्थानीय तहमा प्राविधिक अध्ययनबिना नै निर्माण भएका सडक र क्रसर उद्योगले गरेको अत्यधिक दोहनका कारण पनि बीपी राजमार्गको चार स्थानमा यातायात सञ्चालनमा समेत कठिनाइ भएको छ।

जापान सरकारको सहयोगमा निर्माण भएको बीपी राजमार्ग ठाउँठाउँमा जोखिम बढेको छ। तराईबाट राजधानी काठमाडौं जोड्ने वैकल्पिक राजमार्गका रूपमा रहेको बीपी राजमार्गको तीन स्थानमा पुल निर्माण हुने भएको छ।

पानी पर्दा सडकभरि लेदो जम्ने कारणले यातायात सञ्चालनमा नै कठिनाइ बढ्दै गएपछि सरकारले तीन स्थानमा दुई लेनको पुल निर्माण गर्ने भएको हो। पुल निर्माणका लागि जापान सरकारले डिजाइनको काम गरिरहेको छ।

सूर्यविनायक–धुलिखेल–खुर्कोट बर्दिवास सडक आयोजनका प्रमुख सूर्य भाटले कजवे भएको तीन स्थानमा पक्की पुल निर्माण गर्न डिजाइनको काम भइरहेको नेपाल समाचारपत्रलाई बताउनुभयो। उहाँका अनुसार डिजाइनको काम आगामी मंसिरसम्ममा सम्पन्न हुनेछ।

बीपी राजमार्गको धुलिखेल–नेपालथोक खण्डको माम्ती, घ्याम्पे र भ्याकुरे खोलामा दुई लेनको पुल निर्माण हुने भएको छ। बीपी राजमार्गलाई दुई लेनको बनाउने योजना अगाडि सारेको सरकारले पुल पनि दुई लेनको बनाउने भएको हो।

सडक निर्माण भएको १७ वर्षपछि सरकारले उक्त चार स्थानमा पुल निर्माणको गर्न डिजाइनको काम अगाडि बढाएको छ। बीपी राजमार्गमा हाल दैनिक पाँच सयभन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन्।