नेकपामा पनि आत्मअनुशासन बलियो हुनुपर्छः राष्ट्रपति सी जिनपिङ


न्युज अफ नेपाल, काठमाडौं ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले आत्मअनुशासन बलियो बनाउन नेकपा नेताहरुलाई सुझाव दिएका छन् ।राष्ट्रपति सी जिनपिङले चिनियाँ कम्युनिस्ट पार्टीमा आत्मअनुशासन बलियो छ । अब नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पनि आत्मअनुशासनमा बलियो हुनुपर्छ राष्ट्रपति सी जिनपिङले भन्नुभयो ।

राष्ट्रपति सी र नेकपाका नेताहरुबीचको सामूहिक भेटवार्तामा सीले नेपालको विकासलाई नजिकबाट नियालिरहेको र त्यसमा सहयोग गर्न चीन प्रतिबद्ध रहेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

राष्ट्रपति सी जिनपिङले जनता, पार्टी र सरकारबीचको समन्वयात्मक सम्बन्धलाई अगाडि बढाउनुपर्नेमा पनि सो भेटवार्तामा जोड दिनुभएको । सन् १९४९ मा शक्ति आर्जन गरेपछि मात्रै चीनले विकास गरेको नभइ समयानुकुल जनतासँग जोडिएर विकास गरेको उहाँको भनाइ थियो ।

जनतालाई जोडेर गरिएको विकासले जनता खुसी हुने र पार्टी तथा सरकार पनि बलियो हुने सीको भनाइ छ ।

छलफलका क्रममा नेकपा अध्यक्ष प्रचण्डले शब्दमा मात्र नभइ एक चीन नीतिप्रति नेपाल व्यवहारिक रुपमा प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रचण्डले चीनको विकासबाट नेपाल लाभान्वित हुन चाहेको भन्दै पार्टीस्तरमा पनि सहयोग विचार आदानप्रदान चाहेको बताउनुभयो ।

सो अवसरमा चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाबीच राजनीतिक रुपमा सम्बन्ध बढाउँदै लैजानुपर्नेमा सीले पनि सहमति जनाउनुभएको थियो ।

भेटवार्तामा नेकपाका अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल, सचिवालय सदस्यहरुः बामदेव गौतम, विष्णु पौडेल, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलगायतका सहभागी थिए। सो भेटमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी हुनुभएको थिएन ।