चिनियाँ राष्ट्रपतिलाई विमानस्थल, रात्रिभोजदेखि भाेलीसम्मका कार्यक्रम

आइतवार विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गर्ने, नेपाल चीन द्विपक्षीय सहमति पत्रमा हस्ताक्षर गर्ने


न्युज अफ नेपाल काठमाडौं ।

नेपालको राजकीय भ्रमणमा काठमाण्डौ आउँदा चीनका राष्ट्रपति सी जिनपिङलाई भव्य स्वागत गरिएको छ । २३ वर्षपछि नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपतिलाई राष्ट्रपति, प्रधानमन्त्रीदेखि सर्वसाधारणसम्मले स्वागत गरेका हुन् ।

उहाँलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरु विमानस्थलमै पुगेर चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्नुभयो ।

तस्वीरः उज्जल डंगोल/अनिल आंदेम्बे/रासस 

यस्तै संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, चीनका लागि नेपाली राजदूत र नेपालका लागि चिनियाँ राजदूत तथा चिनियाँ दूतावासका उच्चअधिकारीले पनि राष्ट्रपति सीलाई स्वागत गरेका थिए ।

नेपाली सेनाको एक टुकडीले विशिष्ट अतिथि राष्ट्रपति सीको सम्मानमा २१ तोपको सलामी दिएको थियो ।
विमानस्थल परिसर र वरपर सातै प्रदेशको प्रतिनिधित्व हुने गरी राष्ट्रिय पोशाक पहिरिएका विभिन्न जातजातिका सांस्कृतिक झाँकीसहितका जनसाधारणले नेपाल र चीनका झण्डा फहराएर चिनियाँ राष्ट्रपतिको स्वागत गरेका थिए ।

विमानस्थलकै मूलद्वार राष्ट्रपति सीको स्वागतका लागि आकर्षक पारिएको थियो । विमानस्थल परिसर र वरपर सातै प्रदेशको प्रतिनिधित्व हुने गरी राष्ट्रिय पोशाक पहिरिएका विभिन्न जातजातिका सांस्कृतिक झाँकीसहितका सर्वसाधारणले नेपाल र चीनका झण्डा फहराएर चिनियाँ राष्ट्रपतिको स्वागत गरेका थिए ।

विशेषगरी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलदेखि राष्ट्रपतिको। आतिथ्यता एवं आवासको प्रबन्ध गरिएको स्थल तथा त्यहाँबाट राष्ट्रपति भवन शीतल निवाससम्मको सवारी मार्गका दुवै किनार भव्य रुपमा सिँगारिएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच शनिबार साँझ शीतल निवसमा भेटवार्ता भएको छ । भेटका क्रममा दुई पक्षीय हितका विषयमा छलफल भएको बताइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी र समकक्षी सीले शनिबार साँझ शीतल निवासमा द्विपक्षीय वार्ताका क्रममा सम्बोधन गरेका थिए ।

राष्ट्रपति भण्डारीद्वारा समकक्षी सी को सम्मानमा सोल्टी होटलमा आयोजित रात्रिभोजमा सरिक भएका छन् । उक्त रात्रिभोजमा विभिन्‍न दलका शीर्ष नेताहरुको समेत उपस्थिति रहेको छ ।

सोल्टी होटलमा आयोजित रात्रिभोजमा मन्त्रिपरिषद्का सदस्य, स्थानीय निकायका जनप्रतिनिधिदेखि विभ्न्नि दलका नेता तथा उच्च पदस्त कर्मचारीहरु सहभागी रहेका छन् ।

राष्ट्रपति सीका लागि स्टार्टर, सुप, मेनकोर्स र डेसर्ट गरेर विभिन्न परिकारहरु तयार गरिएको छ ।

जसमा नेपाली परिकारदेखि चिनियाँ परिकारको समिश्रण रहेको छ । सीलाई पस्कने खानमा नेवारी बारा, मोमो, सिमीसँग भटमास साँधेको, कुरिलो र क्वाटीको रसजस्ता नेपाली परिकारहरु रहेका छन् ।

 

चिनियाँ राष्ट्रपति शीको आइतवारका कार्यक्रम

चिनियाँ राष्ट्रपति शीले आइतवार बिहान विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ । परराष्ट्र स्रोतका अनुसार, नेकपाका नेताहरुसँग सामूहिक र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत नेताहरुसँग भेट्ने कार्यक्रम छ ।

आइतवार नै प्रधानमन्त्री ओली नेतृत्वको टोलीसँग चिनियाँ राष्ट्रपति शीको प्रतिनिधिमण्डलबीच औपचारिक भेटवार्ता हुनेछ । सोही क्रममा नेपाल चीन द्विपक्षीय सहमति पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

केरुङ–काठमाडौं रेल्वे विस्तार सम्बन्धी सम्भाव्यता अध्ययन सम्झौतालगायत केही सहमति र सम्झौता पत्रमा हस्ताक्षरको कार्यक्रम राखिएको छ । भ्रमण सकेर चिनियाँ राष्ट्रपति शी आइतवार स्वदेश प्रस्थान गर्ने कार्यक्रम छ ।

चिनियाँ राष्ट्रपतिको स्वागतका लागि सरकारले आइतवार सार्वजनिक बिदा दिएको छ । २३ वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको भ्रमण हुन लागेको हो । यसअघि सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जमिनले नेपालको भ्रमण गरेका थिए ।

यस उच्चस्तरीय भ्रमणबाट नेपाल–चीन सम्बन्धले थप नयाँ उचाइ लिने र विभिन्न सम्झौतामा सहमति हुने जनाइएको छ । राष्ट्रपति सी आइतबार दिउँसो साढे १२ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।