छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ को मृत्यु


न्युज अफ नेपाल, काठमाडौं ।

ललितपुर र काठमाडौंको विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका ११ सतुङ्गलमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन रत्ननगर नगरपालिका १६ घर भएका २५ वर्षीय सुनिल अधिकारी रहको प्रहरीले जनाएको छ । अधिकारीको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको हो ।

बा।३ ख ३८१७ नम्बरको टिपरले अधिकारी सवार बा।२६ प ४९०३ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिएको थियो । दुर्घटनामा परी अर्काे एक घाइते भएका छन् घाइते हुनेमा मोटरसाइकल चालक ललितपुर महालक्ष्मी नगरपालिका २ ईमाडोल घर भएका ४१ वर्षीय टिका बहादुर बानिया रहेको प्रहरीले बताएको छ । घाइतेको ओम समाज अस्पताल सतुंगलमा उपचार भइरहेको छ । दुवै सवारी साधन र टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ललितपुर महानगरपालिका २७ स्थित सडकमा बा।४ ख ८२५० नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही महानगरपालिका सुनाकोठी बस्ने अन्दाजी ७० वर्षीया रुकु कार्की रहेको प्रहरीले जनाएको छ । कार्काीलाई बुधबार बिहान बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो । फरार बस चालकको भने प्रहरीले खोजी गरिरहेको छ ।