१५ हजार घुससहित प्रहरी नायव निरीक्षक रङ्गेहात पक्राउ


काठमाडौँ । सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा ईलाका प्रहरी कार्यालय मंगलापुर, रूपन्देहीमा कार्यरत प्रहरी नायव निरीक्षक खिमबहादुर जि.सी पक्राउ परेका छन् । जि.सी ले बिमा सिफारिस गरिदिने बताउँदै सेवाग्राहीसँग घुस रकमको माग गरेका थिए ।

सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले जि.सी लाई आज पक्राउ गरेको छ । जि.सी.लाई सेवाग्राहीसँग १५ हजार घुस वापतको रकम लिइसकेको अवस्थामा कार्यालय परिसरबाटै उक्त घुस रकमसहित अख्तियारले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका जिसीमाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ ।