सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजेको सभापति देउवाको आरोप


न्युज अफ नेपाल, काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् । नेपाल राष्ट्रिय मगर सङ्घ प्रदेश नं ३ समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै देउवाले लोकतन्त्रको मेरुदण्ड नै प्रेस स्वतन्त्रता भएको र यसको संरक्षणमा आफ्नो पार्टीले कुनै सम्झौता नगर्ने बताएका छन् ।

यस्तै कार्यक्रमको अवरस पारेर सभापति देउवाले रेडियो नेपालको दिपायल कार्यालयबाट निष्कासित गरिएका तीन जना पत्रकारलाई तत्काल पुनःबहाली गर्न माग गरेका छन् ।

काङ्ग्रेस उपसभापति विमलेन्द्र निधिले कार्यक्रममा बोल्दै सत्तापक्ष दलको निर्देशनमा नै आफ्नो पार्टीमाथि एकपछि अर्को आक्रमण भएको जनाएका छन् । घटनामासंलग्न अपराधिलाई कारवाही नगरे काङ्ग्रेस चुप लागेर नबस्ने निधिले उल्लेख गरे । उहाँले संविधानले अङ्गिकार गरेका बहुलवाद, बहुदलीय लोकतन्त्रलगायतका मूलभूत व्यवस्थामाथि सरकारबाटै खतरा देखिएको आरोप लगाएका छन् ।

यस्तै कायृक्रममा बोल्दै काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले ठूलो सङ्घर्षले ल्याएको संविधानको वर्तमान सरकारले प्रभावकारी कार्यान्वयन गर्न नसकेको आरोप लगाउँदै संविधानअनुसार प्रदेश र स्थानीय तहलाई बजेट नदिएको जिकिर गरेका छन् ।

कार्यक्रममा काङ्ग्रेस केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दीपक गिरी, पूर्व राज्यमन्त्री उदयशम्शेर राणा, सिन्धुलीका पार्टी सभापति उज्वल बराल, मगर सङ्घका केन्दीय अध्यक्ष ओम थापा मगर, नेता मोहनप्रसाद बराललगायतको उपस्थिती रहेको थियो ।