१७ वर्षदेखि फरार बालबालिका तस्कर ड्रोनको सहायताले पक्राउ


काठमाडौँ । महिला तथा बालबालिका तस्करीमा दोषी ठहरिएका एकजना चिनियाँ नागरिकलाइ १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । सन् २००२ मा जेलबाट भागेका ६३ वर्षीय सोङ जियाङ्लाई चिनियाँ प्रहरीले गुफामा लुकेर बसेको अवस्थामा फेला पारेको हो । जियाङ्लाई ड्रोनको माध्यमबाट पत्ता लगाएर पक्राउ गरिएको स्रोतले जनाएको छ ।

वर्षौंदेखि कसैको सम्पर्कमा नरहेका जियाङ्लाई योङसान प्रहरीले ड्रोनले देखाएको लोकेशनलाई पछ्याउँदै एक सानो गुफामा बसिरहेको अवस्थामा फेला पारेको थियो ।

पहिलो ड्रोन पठाउँदा लामो समयसम्म केही पत्ता नलागेपछि प्रहरीले फेरि अर्को ड्रोन पठाएको थियो । उक्त ड्रोनले एक स्टिलको टाइल भएको स्थान र ओरालो देदेखाएपछि पछ्याउँदै प्रहरी उक्त गुफामा पुग्न सफलल भएको थियो । निकै कठिन ठाउँमा फेला परेका जियाङ् प्रहरी पुग्दा निकै कम्जोर हालतमा थिए ।

प्रहरीले बताए अनुसार जियाङ्सँग पानी पिउने एउटा बोतल र आगो बाल्नका लागि जम्मा गरिएका रुखका हाँगाहरु मात्र थिए । पक्राउ परेका जियाङ्लाई जेल पठाइएको चिनियाँ प्रहरीले जनाएको छ ।