यात्रु र चालकलाई सुरक्षित यात्राको शुभकामना


मोतीराम तिमल्सिना, काभ्रे । 

जिल्ला प्रहरी कार्यालय काभ्रेले घटस्थापना देखि जिल्लाका विभिन्न स्थानमा लामो दुरीमा संचालन भएका सार्वजनिक यातायातका चालक, सह चालक र यात्रुहरुलाई सुरक्षित यात्राको शुभकामना दिएको छ ।

जिल्लाका दुई मुख्य मार्ग अरनिको र विपी राजमार्गबाट दैनिक एक हजार भन्दा धेरै यात्रुवाहक सवारी ओहोरदोहोर गर्दै आएका छन् । उक्त सवारी साधन संचालन गर्दा चालकहरुले सुरक्षित रुपमा संचालन गर्दा यात्रुहरुको यात्रा सहज हुुने भएकाले उनिहरुलाई शुभकामना सहित सचेत गराएको जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटाले बताउनु भयो ।

बिजया दशमी, शुभ दिपावली तथा छठ पर्व सुरक्षाको लागी तयार पारिएको सुरक्षा योजना २०७६ अनुसार राजमार्ग र सहायक मार्गहरुमा सवारी दुर्घटना हुन नदिने, क्षमता भन्दा बढि लोड बोक्ने उपर कारवाही, भिभिआईपी र भिआईपीको आवागमन मार्ग, मुकाम स्थल सुरक्षा, अवैध चोरी पैठारी लगायत जिल्लाका प्रमुख शहर, आर्थिक कारोवार हुने बैक वित्तिय संघ संस्था, सरकारी कार्यालयहरुको सुरक्षा, व्यापारीक केन्द्र, बसपार्क टिकट काउन्टर, धार्मिक मेला पर्वहरु लाग्ने स्थान, सपिङ महल तथा सुपर मार्केटहरु जस्ता महत्वपुर्ण स्थानहरुमा हुन सक्ने चोरी, लुटपाट, डकैती, तस्करी, कालो बजारी लगायत अन्य अपराधिक घटना घट्न सक्ने सम्भावनालाई मध्य नजर राखी सुरक्षा योजना लागु गरेको थियो ।

प्रहरीले पहिलो दिन समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “सडक सभ्यता हाम्रो चाहना, सुरक्षीत यात्राको सबैमा शुभकामना कार्यक्रम धुलिखेल नगरपालीका वडा नं. ७ भकुण्डे चोकमा संघीय प्रहरी इकाई कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक भोजजंग शाहले सुभारम्भ गर्नु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रही उपरिक्षक जयराज सापकोटा लगायत सिनियर,जुनियर प्रहरी अधिकृत तथा जवानहरु, ट्राफीक प्रहरीहरु,राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख,मजदुर संघ संघठनका प्रमुख तथा पदाधिकारी साथै सवारी चालक, सहचालकहरुको सहभागिता रहेको थियो । लामो तथा छोटो दुरीका सवारी चालक हरुलाई खादा,फुलको माला तथा अबिरको टिका लगाई सुरक्षीत यात्राको साथै बडा दशै २०७६ को उपलक्ष्यमा सुभकामना दिईएको,साथै यात्रुहरुलाई सुरक्षीत यात्राको शुभकामना दिई जनचेतना मुलक सामाग्रीहरु बितरण गरीएको प्रवक्ता डिएस्पी दिपक गिरीले जानकारी दिनुभयो ।

दोश्रो दिन पनि प्रहरीले ५० वटा सवारीका चालक, सहचालक लगायत १ हजा। ४ सय जनाको सहभागितामा लामो तथा छोटो दुरीका सवारी चालकहरुलाई खादा,फुलको माला तथा अबिरको टिका लगाई सुरक्षीत यात्राको साथै बडा दशै २०७६ को उपलक्ष्यमा सुभकामना दिईएको छ ।