लिपिको प्रशिक्षण र प्रयोगका केन्द्र स्थापना

इतिहासको अध्ययनका लागि लिपि अनिवार्यः सत्यमोहन जोशी


न्युज अफ नेपाल, ललितपुर । वाङमय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले लिपिको अध्ययन बिना नेपालको कला, संस्कृति र इतिहास अध्ययन अपुरो रहने बताउनुभएको छ ।

ललितपुर महानगरपालिका १६ स्थित खाःछेँमा खोलिएको प्रशिक्षण केन्द्र (नेवाः स्यनाकुथि व छय्लाबुला ज्यास) को उद्घाटन गर्नुहुँदै उहाँले सो विचार व्यक्त गर्नुभयो । वरिष्ठ संस्कृतिविद् जोशीले लिपि भनेको मानव समाजको विकास क्रममा अविष्कार भएको सिर्जनशीलता रहेको उल्लेख गर्दै त्यसको प्रयोगलाई बढावा दिनुपर्नेमा जोड दिनुभयो ।

तस्वीर : सुमन बज्राचार्य

नेपाल संयुक्त राष्ट्रको सदस्य बन्न मुलुकको आधिकारिक लिपिको रुपमा प्रचलित नेपाल लिपि दर्ता गराएको उल्लेख गर्दै जोशीले यसको संरक्षणलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने खाँचो औल्याउनुभयो । सो अवसरमा प्रदेश– ३ का सांसद् शोभा शाक्यले भाषा, कला संस्कृति र लिपिको जर्गेना गर्न प्रदेश सरकारबाट विनियोजित बजेट सदुपयोग गर्नुपर्ने बताउनुभयो । समारोहमा ललितपुर महानगरपालिका– १६ का वडाअध्यक्ष निर्मलरत्न शाक्यले वडाले लिपि प्रशिक्षण कार्यक्रम आयोजना गर्ने बताउनुभयो ।

रञ्जना लिपि, प्रचलित लिपि, ब्राम्ही लगायत लिपिको प्रशिक्षण र त्यस सम्बन्धी व्यावसायिक रुपमा सेवा प्रवाह गर्न सो कार्यालय खोलिएको कार्यालयका प्रमुख रुबिन शाक्यले जानकारी दिनुभयो । कार्यालयको स्थापनाले लिपि अध्ययनको महत्व र यसको प्रयोगलाई बढावा दिने पनि प्रमुख शाक्यको धारणा रहेको छ ।