खसीबोकाको व्यापारमा बाधक बन्दै झरी


न्युज अफ नेपाल, हेटौंडा । अघिल्ला वर्षहरुमा हेटौंडामा दशैंको बेला खसीबोकाको कारोबार उच्च रहने गरेपनि यस वर्ष भने कारोबार त्यति उत्साहजनक छैन । लगातार वर्षाका कारण कारोबार घटेको व्यवसायी बताउँछन् । झरीका कारण गाउँगाउँका व्यापारीलाई बजारसम्म आइपुग्न समस्या भएपछि खसीबोकाको व्यापारमा गिरावट आएको हो । विगतका वर्षमा दशैं आउन डेढ महिनाअघिबाट राम्रो कारोबार हुने गरे पनि यस वर्ष भने खसीबोकाले त्यति बजार पाउन नसकेको व्यापारीको भनाइ छ ।

बजारमा कारोबार घट्दा गाउँबाट खसीबोका बिक्रीका लागि बजारमा ल्याउने व्यापारीले खरिद गरेको मूल्यभन्दा कममा बिक्री गर्न बाध्य भएको व्यापारी रमेश सिग्देलले बताउनुभयो । हेटौंडा–१०, बसपार्कस्थित खसीबोका बजारमा दैनिक सात सयसम्मको संख्यामा कारोबार हुन्थ्यो । तर, यसपटक भने दुई/तीन सय खसी बिकाउन मुस्किल भएको खसीबोका तथा बाख्रा खरिदबिक्री केन्द्रका इञ्चार्ज राजकुमार महर्जनले बताउनुभयो । विशेषगरि झरीले यसपालिको व्यापार चौपट पारेको उहाँले गुनासो गर्नुभयो ।

महर्जनका अनुसार अन्य समयमा कम व्यापार हुँदा पनि व्यापारी खासै चिन्तित बनेका थिएनन् । तर, बिक्री हुने मुख्य समयमा नै खसीबोकाको व्यापार घट्दा यतिखेर व्यापारी समस्यामा परेका हुन् । विगतमा यहाँका व्यापारीले खसीबोकाको माग थेग्न नसक्ने अवस्था थियो । ‘गाउँगाउँबाट खसीबोका खरिद गरेर व्यापारीले काठमाडौं लैजान थालेपछि हेटौंडामा खसीबोकाको व्यापार घटेको हो,’ उहाँले भन्नुभयो ।

बिक्री केन्द्रमा नामटार, बस्तीपुर, मनहरी, ज्यामिरे, फापरबारी, शिखरकटेरीलगायत स्थानबाट पनि खसीबोका ल्याइने महर्जनले बताउनुभयो । अन्य जिल्ला तथा भारतबाट यस वर्ष खसी हेटौंडामा नआएको उहाँको भनाइ छ । उहाँले व्यापारको समस्यासँगै भवनको समस्या रहेको बताउनुभयो । उहाँका अनुसार खसीबोका बिक्री गर्ने भवन अपुग भएकोमा कुनै निकायले चासो लिएका छैनन् । आदर्श टोल विकास संस्थाले भवन बनाउने भनिएको थियो । तर, नगरपालिकाले उक्त संस्थालाई भवन बनाउन अनुमति नदिएको महर्जनले जानकारी दिनुभयो ।

भवन व्यवस्थित नहुँदा व्यापारीले भनेअनुसार खसीको संख्या बढाउन नसकिएको उहाँले बताउनुभयो । पानी पर्दा व्यापारीहरु होटलतिर खसीबोका लिएर दगुर्नुपर्ने अवस्था रहेको महर्जनको भनाइ छ ।