सल्यानमा अवैध घरेलु मदिरा नष्ट


सरिता चलाउने, सल्यान । सल्यान प्रहरीले मुख्य बजारहरुबाट अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । जिल्लाको श्रीनगर र खलंगाको मुख्य बजारहरु बाट नियन्त्रणमा लिएको अवैध घरेलु मदिरा, जाँड, रक्सी र मदिरा बनाउन प्रयोग गरिने औषधी बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।

प्रहरीले शुक्रबार र शनिबार फरक फरक दिनमा खलंगा र श्रीनगर बजारहरुहरु बाट अबैध घरेलु मदिरा नष्ट गरेको थियो । प्रहरीले बरामद गरिएको २ सय ५० लिटर मदिरा, ९ सय लिटर जाँड र मदिरा बनाउन प्रयोग गरिने ४ किलोग्राम कच्चा पदार्थ औषधि बरामद गरि नष्ट गरिएको प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक ढकेन्द्र खतिवडाले बताए । उनका अनुसार मदिरा बनाउन प्रयोग गरिएका केही थान भाँडाहरु पनि बरामद गरिएको छ ।

दशैँ तिहार जस्ता ठुलो चाड पर्बमा आएको बेलामा विभिन्न खाले घटना हुन सक्ने भन्दै अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको उनको भनाई छ । मदिरा सेवनकै कारण समाजमा हिंसा, बलात्कार, चोरी डकैती, झैझगडा हुने भएकाले त्यस्ता घटनाहरुलाई कम गर्न मदिरा नियन्त्रण गरी नस्ट गरिएको उनको भनाई छ ।