रमिते प्रहरी, दुःख पाउँदै नागरिक

बजार ‘पार्क’ जस्तै, बसपार्क सधैं उस्तै


न्युज अफ नेपाल, हेटौंडा ।

हेटौंडाको बुद्धचोकदेखि मकवानपुर उद्योग वाणिज्य संघसम्म करिब १ दर्जन सुमो यात्रुको पर्खाइमा सडकमा लाइन लगाएर राखिएका थिए । बुद्धचोक र मकवानपुर उद्योग वाणिज्य संघअगाडि खटिएका ट्राफिक प्रहरी मेनरोडमा यात्रु कुरेर बसेका सुमोको रमिता हेर्दै थिए ।

सुमोका टिकट काट्न राखिएका कर्मचारी अटोमा यात्रु आएको देख्नेबित्तिकै झम्टिरहेका देखिन्थे । हातमा सुमोका टिकटको प्याड बोक्दै ‘काठमाडौं, काठमाडौं’ भन्दै कराउँदै थिए उनीहरु ।

हेटौंडाको साँघुरो मेनरोडका सडकपेटीमा थरिथरिका पसल हुँदा मेनरोडमा ‘सुमोपार्क’ जस्तै दृखिन्छ । सुमोपिच्छेका ती कर्मचारी ट्राफिक प्रहरीजस्तो मेनरोडमा काठमाडौं जाने यात्रु हुन् वा नहुन् सबैलाई ‘काठमाडौं जाने हो ?’ भनेर सोध्ने अनि कोही काठमाडौं जाने भइहाले तानातान गर्ने ।

शनिबार विहान करिब १० बजे मेनरोडमा देखिएको दृष्य हो यो । मेनरोडमा सुमो रोकिराख्ने र त्यहींबाट टिकट काट्ने गरेको आफूले देख्ने गरेको तर, कारबाहीको दायरामा ल्याउन नसकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर प्रमुख प्रनि हरिविष्णु ढकाल स्वीकार्नुहुन्छ ।

अटो/मयुरीले बढाएको अस्तव्यस्तता
तीनपांग्रे सवारीसाधन अटो र मयुरीका कारण बजार क्षेत्र अस्तव्यस्त भएको छ । राजमार्ग क्षेत्रमा चल्ने स्वीकृति नपाएका मयुरी/अटोका कारण बजार क्षेत्रमा जाम बढेको यात्रुहरु र स्वयम् सवारीचालक स्वीकार गर्दछन् ।
लाइसेन्स नभएका अटो/मयुरीचालकले बजार क्षेत्र अस्तव्यस्त बनाएका छन् । ट्राफिक नियम पालना नगर्ने र मेनरोड, कान्तिराजपथ, बद्धचोकलगायत जताततै अटो/मयुरी पार्किङले समस्या भएको यात्रीको गुनासो छ ।

सधैंको जाम
हेटौंडाको बुद्धचोकमा हरेक दिन सडकजाम हुने गरेको छ । जनपद प्रहरी र ट्राफिक प्रहरी सवारीसाधनलाई व्यविस्थतढंगले गन्तव्यमा पुर्याउन लाग्छन् । तर, जाम भने उत्तिकै छ ।
बुद्धचोकमा जाम भइरहेको हुन्छ । तर, मेनरोडको कृष्ण मन्दिरनजिक भने सुमो सडकमा रोकेर यात्रु कुरिरहेका हुन्छन् । प्रदेशको राजधानीमा हरेक दिन मन्त्री, सचिव, मेयर, अशक्त बिरामी सधैं जाममा पर्छन् । तर, ट्राफिक प्रहरी मेनरोडमा सवारीसाधन रोके पनि टुलुटुलु हेरेर बसेका हुन्छन् ।

विशेषगरी मेनरोडको स्कुलरोड चोकदेखि मकवानपुर उद्योग वाणिज्य संघअघिसम्म विहान १० बजेदेखि दिउँसो करिब ४ बजेसम्म जाम हुने गरेको छ । सडकमै रोकिने सवारीसाधन नहटाउँदा समस्या हुने गरेको छ ।

मेनरोडको बुद्धचोकमा सवारी व्यवस्थित बनाउन लागिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंह बताउनुहुन्छ । साँघुरो सडक र हेटौंडा उपमहानगरपालिकाले सवारीलाई पार्कको उचित विकल्प नदिँदा समस्या भएको उहाँको भनाइ छ ।

बसपार्क सधैं उस्तै
कान्तिराजपथ सडक हेटौंडाकै नमूना सडक हो । तर, ट्राफिक प्रहरीको मिलेमतोमा सधैंको बसपार्कजस्तै भएको छ उक्त सडक । दुई लेनको कान्तिराजपथ सडकको बीचमा डिभाइडर राखेर विभिन्न रंगीबिरंगी फूल फुलाइएका छन् । उक्त सडक अन्य सडकभन्दा फराकिलो छ । पसलमा सामान खरिद गर्न जान सडक छाडेर अलिक पर जानुपर्छ ।

फुटपाथ पनि मेनरोडको तुलनामा फराकिलो छ । तर, सडकको दायाँबायाँ विहानदेखि बेलुकासम्म म्याजिकहरु यात्रु कुरिरहेका हुन्छन् । ठूला ट्रक, निजी कार, टेम्पो, अटो/मयुरीको ‘पार्किङ’ जस्तै भएको छ कान्तिराजपथ ।

फराकिलो सडक दुईतिर लाइनै सवारीसाधन पार्किङ गरेर अस्तव्यस्त बनाइएको प्रत्यक्षदर्शी बताउँछन् । म्याजिकहरुको त यहाँ ‘पार्क’ नै बनाइएको छ । यात्रु ‘पार्क’ मा म्याजिक चढ्न जानुपर्छ । म्याजिक त लाइनै रोकिरहेका हुन्छन् । ट्राफिक प्रहरी रमिते बनेर बस्ने गरेको कान्तिराजपथका व्यापारी बताउँछन् । कान्तिराजपथमा ट्रकलगायत सवारीलाई पार्किङ गर्न नदिने काम भइरहेको ट्राफिक प्रमुख ढकालको भनाइ छ । आफूहरुले देखेमा हटाउने गरेको उहाँको दाबी अनुभव गर्न सकिनै छैन ।