कृषि विकास बैंक ह्याक प्रकरण : ६९ लाख रकमसहित थप २ पक्राउ


काठमाडौँ । कृषि विकास बैंक ह्याक प्रकरणमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा यज्ञराज भट्ट र मालती देवी न्यौपाने रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । यज्ञराजलाई ४५ लाख रकमसहित महेन्द्रनगरबाट र मालतीलाई २४ लाख रकमसहित पर्वतको हुवासबाट प्रहरी टोलीले पक्राउ गरेको हो ।

यही प्रकरणमा प्रहरीले १३ जना पक्राउ गरिसकेको छ । यस प्रकरणमा संलग्न रहेका थप एजेन्टहरु खजी भईरहेको प्रहरीले बताएको छ । गत असोज ५ गते बैंकको लाहान शाखाबाट विभिन्न एजेन्टका खातामा ह्याकरले रकम स्थानान्तरण गरेका थिए ।

प्रहरीको प्रारम्भिक अध्ययनअनुसार अफ्रिकन मुलका पिटर नाम गरेका व्यक्ति मुख्य योजनाकार रहेको र भारतमा बसेर ती एजेन्टमार्फत ५ अर्ब लुट्ने योजना बनाएको खुलेको छ । पिटरले १० देखि ३५ प्रतिशतसम्म कमिसन दिएर विभिन्न एजेन्ट मार्फत रकम लुट्ने गरको प्रहरीले जनाएको छ ।

बैंकको रकम एजेन्टका खातामा ट्रान्सफर गरिदिने र एजेन्टले हुन्डीमार्फत ह्याकरलाई पठाउन खोजेको प्रहरीको अध्ययनले देखाएको छ। यस विषयमा थप छनबिन चलिरहेको प्रहरीले जनाएको छ।