सामुदायिक साकोसलाई “एक्सेस सिल्भर ब्राण्ड” प्रदान


न्युज अफ नेपाल, पनौती । काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका ४ मा अवस्थित सामुदायिक वचत तथा ऋण सहकारी संस्थाले मलेसियामा आयोजना भैरहेको एशियाली ऋण महासंघको सभाबाटे “एक्सेस सिल्भर ब्राण्ड” प्राप्त गरेको छ ।

उक्त ब्राण्ड एशियाली ऋण महासंघका अध्यक्ष योङसिक किमले प्रदान गर्नुभएको थियो भने सामुदायिक साकोसका सचिव मुकुन्द शर्माले संस्थाको तर्फबाट सिल्भर ब्राण्ड अंकित प्लेग ग्रहण गर्नुभएको थियो । उक्त ब्राण्ड आगामी १ वर्षका लागि मान्य हुने र अर्को वर्ष एशियाली ऋण महासंघबाट संस्थाको स्थलगत परिक्षण गर्दा संस्थाको अवस्था सुदृढ देखिएमा पुनः ब्राण्ड नविकरण हुने र सो भन्दा माथिल्लो अवस्थामा संस्था प्रवेश गरेको देखिएमा गोल्ड ब्राण्ड प्राप्त गर्नेछ ।

ब्राण्डको विषयमा संस्थाका प्रमुख कार्यकारी अधिकृत मदन बस्नेत भन्नुहुन्छ, यो एक्सेस ब्राण्ड भनेको गुणस्तर चिन्ह हो । यस संस्थाको पल्र्स मापदण्डलाई पूर्ण पालना गरेको, गुणस्तरिय सदस्य सेवा प्रदान, नीति विधि तथा शुसासन बमोजिम सञ्चालन र नयाँ नयाँ प्रविधिहरु संस्थाले अवलम्बन गरेको आधारमा ८६ वटा ईन्डिकेटरहरुबाट संस्थाको मापन गरी संस्थाको लेवल मापन गरिन्छ, सो पश्चात प्राप्तांकको आधारमा ब्रोच्ज, सिल्भर, गोल्ड र प्लाटिनम कुन ब्राण्ड प्राप्त गर्ने स्तर कायम भएको छ सोही अनुसारको ब्राण्ड एशियाली ऋण महासंघले प्रदान गर्दछ । यो ब्राण्ड प्राप्त गर्नु भनेको सामुदायिक वचत तथा ऋण सहकारी संस्था लि., वचत तथा ऋणको कारोवार गर्ने सहकारीहरु मध्ये एशियाली स्तरको हो भनी महासंघले प्रमाणीकरण गरिदिएको हो ।

२३ हजार भन्दा बढी शेयर सदस्यहरु आबद्ध यो संस्थाले हाल १ अर्ब ९२ करोड पुँजी परिचालन गरि ९ वटा सेवाकेन्द्रहरु सञ्चालन गरी १० वटा कार्यालय मार्फत स्थानीय तहमै शेयर सदस्यहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । शेयर सदस्यहरुको दुःख सुखमा यो संस्थाले आर्थिक रुपमा साथ दिदैं जन्म देखि मृत्यूसम्मका सेवाहरु पुर्याउदै आएको छ ।

संस्थाले प्रोडक्टहरु लन्च गर्दा धन आर्जन हुने खालका प्रोडक्टहरुमा विशेष ध्यान दिदैं सदस्यको उमेर अनुसारको, सदस्यहरुको रुची अनुसारको र वित्तीय क्षेत्रमा प्रतिस्पर्धी प्रोडक्टहरु सदस्यहरुलाई उपलब्ध गराउँदै आएको छ भने नयाँ नयाँ प्रविधिहरुलाई आत्मसाथ गर्दै सदस्यहरुलाई साझ विहान र आवश्यक पर्दा जुनसुकै स्थानबाट कारोवार गर्न सकियोस् भन्ने उद्देश्यले युवा वर्गलाई आकर्षित गर्न एस.सी.टि. नेटवर्क भित्र कारोवार गर्न मिल्ने गरी सदस्यहरुलाई ए.टी.एम. कार्ड उपलब्ध गराउँदै आएकोछ भने आफ्नै ए.टी.एम. मेशिन समेत सञ्चालन गरेको छ । मोवाइल बैंकिङ मार्फत रिचार्ज, स्टेटमेन्ट हेर्ने र फण्ड ट्रान्सफरसम्मको सुविधा यो संस्थाले दिदैं आएको छ ।