दशैँले तातेको बजार



दशैँ, तिहार र छठअघिको करिब एक महिनाको समय बजारमा एकदमै चहलपहल रहने समय हो। खासगरी भदौको उत्तरार्ध र असोजको पूर्वार्धमा बजारमा अत्यधिक तरलता प्रवाह हुन्छ।

मुलुकभरि नै सञ्चित धन, नियमित तथा अतिरिक्त आयको राम्रै हिस्सा मानिसहरू खर्च गर्छन्। प्रत्येक वर्ष नेपाल राष्ट्र बैंकले दशैँकै मौकामा नयाँ नोट बजारमा ल्याउँछ।

औपचारिक संस्थागत क्षेत्रमा रोजगार व्यक्तिहरूले दशैंको मौकामा सरकारी कर्मचारीले पाउने रकमको करिब दोब्बर नै पाउँछन्। व्यापारीहरूका लागि यो समय एक किसिमले वर्षभरिलाई पुग्ने गरी नाफा कमाउने समय हो।

यो समयमा पनि नाफा आर्जन गर्न नसक्नेले सम्भवतः वर्षको अरू बेलामा नाफा आर्जन गर्न सक्दैन। सकेसम्म बढी बिक्री गर्न अमेरिकी खुद्रा व्यापारीहरू थरी–थरीका डिस्काउन्ट र छुटका योजना ल्याउँछन्।

कतिपय उत्पादकले नै त्यो शुक्रबार परेको हप्ताभरकै लागि आमरूपमा खुद्रा मूल्य नै घटाइदिन्छन्। खर्च गर्ने मनस्थितिमा रहेका ग्राहकहरूलाई लोभ्याउने यो शैलीले व्यापारीहरूले नाफा कमाउँछन्।

तर नेपाली बजारमा भने आमरूपमा दशैंअघिको बजारमा आउने ग्राहकबाट सकेसम्म बढी नाफा असुल्न भाउ बढाउने चलन छ। खसीको मासुको भाउ प्रत्येक वर्ष बढ्ने बेला यही हो।

अधिकांश खाद्यवस्तु, मिठाई, व्यक्तिगत सेवा आदिको मूल्य यही बेलामा बढ्छ। तर हालका केही वर्षहरूमा खासगरी काठमाडौँ र एक–दुई ठूला शहरमा संस्थागत खुद्रा–व्यापारिक प्रतिष्ठानले लत्ताकपडा, घरायसी उपकरण आदिमा छुटको घोषणा गर्छन्।

लत्ताकपडामा भनिएको छुट कतिपय अवस्थामा भाउ बढाएर छुट दिइने हुँदा छुटपछि तिरिने मूल्य सामान्य अवस्थाको मूल्यसरह हुन्छ। पहिला अर्थतन्त्रको कमीले गर्दा गाउँघरमा दशैं खल्लो हुन्थ्यो। तर, अहिले स्थिति फेरिएको छ र दशैँको रौनक वास्तवमा शहरमा भन्दा गाउँमा देखिन्छ।

रोजगारी तथा व्यवसाय गरेको शहर वा विदेशबाट दशैंका लागि फिरेकाहरूसँग गोजीमा पैसा र पैसा खर्च गर्ने फुर्सद हुने हुँदा गाउँको आर्थिक गतिविधि ह्वात्तै माथि उठ्छ।

गाउँ फिर्ने क्रममा सार्वजनिक यातायातको एकोहोरो यात्रा दशैंअघि शहर र मूल नाकाहरूबाट जिल्ला सदरमुकाम अनि गाउँतिर लाग्छ र दशैँपछि उल्टो यात्रा हुन्छ।

मूल नाकाहरू र यात्रु बिसौनीवरपर होटल तथा रेस्टुरेन्टहरूमा ठगिनु दशैंको समयमा सामान्यजस्तै हुन्छ। दशैँका लागि लामो बिदामा घर फर्कने ‘लाहुरे’ कहलिने वर्ग एक जमानामा सुनौली नाकामै बास बस्दा ठगिएर टाट परेका कथाहरू विगतमा सुनिन्थ्यो।

नाकाबाट उम्केर गन्तव्य हिँडेको लाहुरे रात बिताउने अर्को कुनै बासमा ठगिन सक्थ्यो। ठगीका यस्ता घटना अहिले पनि हुन्छन्।

मनोरञ्जनका साधनको प्रचूरता, रहनसहनमा आएको परिवर्तनले गर्दा नयाँ पुस्ताका युवामा जुवा–तासको प्रचलन अघिल्लो पुस्ताको जस्तो छैन। अहिले अलिक परिवर्तन आएको छ।

– कुशल पौडेल,
बूढानीलकण्ठ, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्