प्रधानमन्त्री ओलीले राखेकाे समीक्षा बैठकमा सबै मन्त्रीहरु उपस्थित भएनन्, किन ?


न्युज अफ नेपाल, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रालयगत समीक्षा बैठक राखेका थिए। तर बैठकमा महत्वपूर्ण मन्त्रलायका मन्त्रीहरु उपस्थित भएनन्। उनीहरुको सिट खाली रह्यो।

सरकारका दुईमध्ये एक उपप्रधानमन्त्री उपेन्द्र यादव अमेरिकामा छन्। उनी संविधान दिवस भन्दा अघि नै अमेरिका गएका हुन्।

परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली भने राष्ट्रसंघको महासभामा नेपाली प्रतिनिधित्व मण्डलको नेतृत्व गर्दै पुगेका छन्।

वन मन्त्री शक्ति बस्नेत राष्ट्रसंघ महासचिवको अध्यक्षतामा हुने जलवायु सम्बन्धी सम्मेलनमा भाग लिन न्यूयोर्क पुगेका हुन्।

उर्जा मन्त्री वर्षमान पुन जापानमा छन्। पुन नलसिंहगाढ जलविद्युत आयोजनाको लगानी जुटाउन जाइकाको निमन्त्रणमा जापान गएका हुन्।

त्यस्तै पर्यटन मन्त्री योगेश भट्टराई अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठनको महासभामा भाग लिन मोन्ट्रियल पुगेका हुन्।

प्रधानमन्त्रीले डाकेको समीक्षा बैठकमा मन्त्रीहरु अनुपस्थित भएपछि उपस्थित मन्त्रीहरुले मन्त्रीका सिट खाली भएको विषयमा कुराकानी समेत गरेका थिए।

प्रधानमन्त्रीले डाकेको समीक्षा बैठकमा नेपालमै भएका मन्त्रीहरु समेत सहभागी भएनन्। अर्थमन्त्री युवराज खतिवडा तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलनमा सहभागी हुन रुपन्देही पुगेका थिए।

खानेपानी मन्त्री बिना मगर निर्वाचन क्षेत्रका कार्यक्रममा सहभागी हुन कञ्चनपुर पुगिन्।

मन्त्रीहरू समीक्षा बैठकमा अनुपस्थित भएपछि प्रधानमन्त्री ओलीले सैद्धान्तिक निर्देशन मात्र दिएका थिए।

महत्वपूर्ण मन्त्रालयका मन्त्री अनुपस्थित भएपछि समीक्षा बैठक प्रभावित बनेको छ।