एक हजार पाँच सय छात्रालाई निःशुल्क स्यानेटरी प्याड


रामचन्द्र वि.क, रामेछाप । जिल्लाको रामेछाप नगरपालिकाले नगर भित्रका माविमा अध्ययनरत छात्राहरुलाई निःशुल्क घरेलु स्यानेटरी प्याड वितरण गरेको छ । नगरपालिकाले गत आर्थिक वर्षको बजेटबाट सुरु गरेको निःशुल्क घरेलु स्यानेटरी प्याड वितरण कार्यक्रमबाट नगर भित्रका १३ वटा माविका एक हजार पाँच सय छात्रा लाभनवित भएका छन् ।

विद्यालयमा अध्ययनरत छात्रालाई स्यानेटरी प्याड अति आवश्यक भएको र उनिहरुलाई निःशुल्क रुपमा वितरण गर्दा आर्थिक रुपमा समेत भार नपर्ने हुदाँ संघिय सरकारले घोषणा गरेको निःशुल्क स्यानेटरी प्याड वितरण कार्यक्रम कार्यान्वयनमा नआए पनि स्थानीय सरकारले त्यसको सुरुवात गरेको रामेछाप नगरपालिकाकी उपप्रमुख सृजना खड्काले बताउनुभयो । छात्राहरुलाई निःशुल्क वितरण गर्ने स्यानेटरी प्याड नगर भित्रै उत्पादन गरेर वितरण गरिएको हुँदा नगरपालिकामा दक्ष महिला जनशक्ती तयार हुनुको साथै उनिहरुलाई आर्थिक रुपमा समेत फाईदा पुगेको उपप्रमुख खड्काको भनाई रहेको छ ।

उपप्रमुख खड्काले भन्नुभयो– ‘घरेलु प्याड पुनः प्रयोग गर्न मिल्ने हुँदा बजारमा पाईने तयारी प्याड भन्दा कम खर्चिलो हुन्छ, रसायनिक पदार्थको प्रयोग नहुने हुँदा स्वास्थ्यको दृष्टिकोणले पनि फाइदा पुग्दछ भने गाउँमै उत्पादन गरि वितरण गर्दा कम खर्चिलो हुनुको साथै नगरभित्र स्वरोजगारको समेत दिर्घकालिन विकास हुन्छ ।’ स्यानेटरी प्याड सबै महिलालाई अति आवश्यक हुने हुँदा घरेलु स्यानेटरी प्याडको सकारत्मक फाइदाको बारेमा सबै महिलालाई जानकारी गराउँनु पर्ने भएकाले नगरपालिकाले सचेतनामूलक कार्यक्रम ल्याउने पनि उहाँले बताउनुभयो ।

घरेलु स्यानीटरी प्याड उत्पादन र वितरण कार्यको जिम्मा लिएको कम्पनीका अध्यक्ष गुञ्ज बहादुर कार्कीले नगरपालिकाको घरेलु स्यानेटरी प्याड उत्पादन कार्यक्रमले महिलालाई स्वरोजगार बनाएको बताउनुभयो । विद्यालयमा निःशुल्क स्यानेटरी प्याड वितरण गरिदाँ कम आर्थिक अवस्था भएका छात्रालाई ठूलो राहात मिलेको कार्कीको भनाई रहेको छ ।