घरेलु महासंघद्वारा नवनिर्वाचित सेजन कार्यसमितिलाई स्वागत


न्युज अफ नेपाल, काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले नेपाल आर्थिक पत्रकार समाज(सेजन)का नवनिर्वाचित पदाधिकारी एवं कार्यसमिति सदस्यहरूको सम्मानमा बधाई एवं स्वागत कार्यक्रम आयोजना गरेको छ ।

सेजन कार्यसमितिलाई स्वागत गर्दै महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले मुलुकमा रहेका लघु, घरेलु तथा साना उद्योगहरु ग्रोथ ट्रयापमा परेको बताउनुभयो । मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि यस्ता उद्योगहरुलाई ग्रोथ ट्रयापबाट बाहिर निकाल्न जरुरी भएको उहाँको भनाई थियो ।

यसका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने भन्दै उहाँले समावेशी व्यापार नीति र लचिलो कर प्रणाली तत्काल अबलम्बन गर्न नसके मुलुकले आर्थिक मन्दी झेल्नुपर्ने बताउनुभयो ।

साना व्यवसायीहरुका समस्यालाई बाहिर ल्याइदिने दायित्व आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारहरुको भएको भन्दै उहाँले आगामी दिनमा सहकार्यबाट अगाडि बढ्ने अपेक्षा व्यक्त गर्नुभयो ।

मुलुकलाई तीब्रत्तर आर्थिक बृद्घिमा लैजानका लागि लघु, घरेलु तथा साना उद्योगको भूमिका उच्च रहेको भन्दै अध्यक्ष गिरीले अहिले पनि तरकारीदेखि दैनिक उपभोग्य सामानका लागि छिमेकी मुलुकको भर पर्नुपर्ने विडम्बना रहेको बताउनुभयो ।

सेजनका नवनिर्वाचित अध्यक्ष भीम गौतमले लघु, घरेलु तथा साना उद्योगका समस्या र सम्भावनाका विषयमा प्रभावकारी काम गर्नका लागि सेजनले सहकार्य गर्न तयार रहेको बताउनुभयो । खुला बजारको कुरा गरिरहेका बेला स्वदेशी वस्तु प्रतिष्पर्धी हुनुपर्नेमा जोड दिंदै त्यसका लागि उत्पादनको लागत मूल्य घटाउनुपर्ने उहाँले बताउनुभयो ।

सेजनका पूर्व अध्यक्ष प्रदिप चापागाईले अर्थतन्त्रका लागि धेरै सम्भावना बोकेका साना उद्योगहरुका उत्पादनको बजारीकरण र उत्पादकत्व बृद्घि गर्न अन्तरक्रिया र छलफल भइरहनुपर्ने बताउनुभयो ।