अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग प्रक्रिया शुरू

कानुनभन्दा माथि कोही छैन : पेलोसी


वासिङ्टन (एजेन्सी)।अमेरिकी प्रधिनिधि सभाकी सभामुख नेन्सी पेलोसीले राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध महाअभियोग प्रक्रिया शुरू गर्ने घोषणा गरेकी छन्। डेमोक्र्याट्सले औपचारिकरूपमा ट्रम्प विरुद्धको महाअभियोग प्रक्रियालाई अगाडि बढाएको छ।

राष्ट्रपति ट्रम्पले महाअभियोगका लागि तय गरिएका आरोप अस्वीकार गरेका छन्। उक्त आरोपमा उनले युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीमाथि डेमोक्र्याटिक प्रतिद्वन्द्वी जोय बाइडन र उनका छोरा विरुद्धको भ्रष्टाचार आरोपको जाँच शुरू गर्न दवाव दिएको उल्लेख छ।

यसैबीच एबीसी न्युजको अनलाइनमा प्रकाशित ट्रम्प र जेलेन्स्की वार्ताको लिखित प्रतिमा ट्रम्पले बाइडेनमाथि छानबिनका लागि बर र गुलियानीसँग मिलेर काग गर्न युक्रेनसँग आग्रह गरेको उल्लेख गरिएको छ।

राष्ट्रपति ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई पूर्वउपराष्ट्रपति बाइडेन र उनका छोरा विरुद्धको छानबिनमा आप्mना निजी अधिवक्ता रडी गुलियानी र अमेरिकी महान्यायधिवक्ता विलियम बरसँग मिलेर काम गर्न लगातार प्रोत्साहन गरेको ह्वाइट हाउसले सार्वजनिक गरेको विवरणमा उल्लेख भएको अनलाईन एबीसी न्युज डट गो डट कमले जनाएको छ।

यसअघि ट्रम्पले उक्त आरोप अस्वीकार गरेको भएपनि आफ्ना राजनीतिक प्रतिद्वन्द्वीका बारेमा युक्रेका राष्ट्रपतिसँग छलफल गरेको स्वीकारेका थिए। ट्रम्पले अमेरिकाको संविधानको घोर उलंघन गरेको सभामुख नेन्सी पेलोसीले आरोप लगाएकी छन्। उनले भनिन्– ‘राष्ट्रपतिको जवाफदेहीता तय हुनुपर्नेछ, कोही पनि कानुनभन्दा माथि छैनन्।’

ट्रम्पलाई पदबाट हटाउने कुनै पनि प्रयासका लागि २० रिपब्लिकन सांसदको आवश्यक हुनेछ। जसले आफ्नै पार्टीबाट निर्वाचित राष्ट्रपति विरुद्ध विद्राह गर्नुपर्नेछ।

अहिलेसम्म अमेरिकामा कुनै पनि राष्ट्रपतिलाई महाअभियोगको माध्यमबाट हटाइएको इतिहास छैन। जोय बाइडेनले पनि महाअभियोगको प्रक्रिया शुरू गरिनुलाई समर्थन गरेको छ। उनले भने– ‘ट्रम्पमाथि महाअभियोग लगाउनु दुर्भाग्यपूर्ण हो तर यो उनको आफ्नै कारणले भइरहेको छ।

पूर्वउपराष्ट्रपति जोय बाइडेन सन् २०२० मा हुने राष्ट्रपति चुनावमा ट्रम्पलाई चुनौती दिन सक्ने उम्मेदवारका रूपमा लिइएको छ तर ट्रम्पले महाअभियोग उनका लागि राजनितिकरूपमा सकारात्मक हुने प्रतिक्रिया दिएका छन्।

अमेरिकाको तल्लो सदनका २ सय ३५ सदस्यमा १ सय ४५ डेमोक्र्याटिक सांसद महाअभियोगको समर्थनमा छन् तर महाअभियोगको प्रक्रिया तल्लो सदनबाट पूरा भएपनि रिपब्लिकनको बहुमत रहेको सीनेटबाट अनुमोदन हुन कठिन हुनेछ। मत सर्वेक्षणमा पनि यो पक्रिया अमेरिकाका मतदाताबीच धेरै लोकप्रिय नभएको देखिएको छ।

राष्ट्रपति ट्रम्प विरुद्ध शुरू गरिएको महाअभियोगलाई पूर्वराष्ट्रपति उम्मेदवार हिलारी क्लिन्टनले समर्थन गरेकी छन्। उनले ट्रम्प ‘भ्रष्ट मानव टोर्नेडो’ भएको आरोप पनि लगाइन्।

घटना के हो ?

गत हप्ता अमेरिकाको गुप्तचर अधिकारीले सरकारका एक निगरानी संस्थामा ट्रम्पले एक विदेशी नेतासँग वार्ता गरेको सूचना दिएका थिए। पछि ती विदेशी नेता युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्की भएको पत्ता लागेको थियो।

इन्टेलिजेन्स इन्स्पेक्टर जनरलले गुप्तचरको उजुरीलाई तत्काल ध्यान दिन उपयुक्त र विश्वसनीय मानेका थिए। उक्त उजुरीको प्रतिलिपि डेमोक्र्याटसले संसद्मा ल्याउन माग गरेका थिए तर ह्वाइट हाउस र न्याय विभागले यसको प्रति उपलब्ध गराउन अस्वीकार गरेका थिए।

दुवै नेताबीच के वार्ता भएको थियो, त्यो स्पष्ट हुन सकेको छैन तर डेमोक्र्याटिक सांसदले युक्रेनका राष्ट्रपति माथि बाइडेन र उनका छोरा विरुद्ध भ्रष्टाचारको आरोपमा जाँच गर्न ट्रम्पले दवाव दिएको र त्यस्तो नगरेमा युक्रेनलाई दिने भनिएको सैन्य मद्दत रोक्ने धम्की दिएको आरोप लगाएका छन्।

यद्यपि ट्रम्पले जेलेन्स्कीसँग बाडेनका विषयमा छलफल गरेको स्वीकारेका छन्। आफूले सैन्य मद्दत रोक्ने धम्की पनि दिएको तर त्यो युरोप यसका लागि अगाडि बढोस् भन्ने आफ्नो मनसाय रहेको बताएका थिए।