मोदीको चाकडी र सीको प्रशंसाबाट माथि उठौं


कपिल काफ्ले,काठमाडौं । भारत वेष्ठित परराष्ट्र सम्बन्धको परम्परागत नेपाली मानसिकतामा चीन सम्बन्धका पछिल्ला नयाँ आयामहरुको पहलले तरंग ल्याएको छ । नेपाली बौद्धिक जगत्समेत गहिरो निद्राबाट ब्युझिएपछि देखिएको नयाँ दृश्यमाथि प्रतिक्रिया जनाउँदा हुने अन्योल अवस्थाको सामना गरिरहेको छ । यस अवस्थाका तीन प्रमुख आग्रह प्रश्नात्मक रुपमा खडा भएका देखिन्छन्ः

– कम्युनिष्ट मुलुक चीनसँग सम्बन्ध बढाउँदा उसले बढी नियन्त्रण गर्ने हो कि ?

– भाषा, भेष, धर्म र संस्कृति सबै मिल्ने खुला सिमानाको पुरानो मित्र भारत रिसाउने पो हो कि ?

 -कोही बीआरआई भन्छन्, कोही इण्डो प्यासिफिक रणनीति, यी के हुन् र यसबाट नेपाललाई कसरी लाभ वा हानी हुन्छ ?

‘हाम्रो परराष्ट्र नीति प्रष्ट हुनुपर्छ, अहिले म दक्षिणका मोदीलाई चाकडी र उत्तरका सीलाई प्रशंसा गर्नमै सरकार सीमित रहेको देखिरहेको छु’ प्रा. कृष्ण खनाल भन्नुहुन्छ– नेपाललाई कस्तो सम्बन्धले कसरी लाभ हुन्छ भन्ने जनतालाई बुझाउनु आवश्यक छ, लोकतान्त्रिक व्यवस्थाको सञ्चालक सरकारले व्यक्तिको चाकडी र प्रशंसामा आफूलाई सीमित गर्नुहुन्न ।

‘चीनले ल्याएको बीआरआई र अर्को पक्षको इण्डो प्यासिफिक रणनीतिका सम्बन्धमा शोध, विश्लेषण र छलफल हुनु आवश्यक छ’ डा. विष्णु उप्रेतीले नेपाल समाचारपत्रलाई भन्नुभयो– यी अन्तर्राष्ट्रिय पहल र रणनीति नेपालले चाहे पनि नचाहे पनि आए–आए, पछि लतारिएर जानुभन्दा समयमै सरकारले संस्थागत रुपमा वृहत् विश्लेषण गरी मुलुकलाई लाभ हुने आधार पहिचान गर्नपर्छ, मित्र राष्ट्रसँग सम्झौता गर्दा त्यसलाई अडानका रुपमा अघिसार्नु बुद्धिमानी हुन्छ ।

पछिल्लो समय चीन सरकारका विशिष्ट व्यक्तिहरुले छोटो समयको अन्तरालमै लगातार भ्रमण गरेका र नेपालका प्रधानमन्त्रीलगायत नेकपाका अध्यक्ष तथा अन्य प्रभावशाली नेतालाई चिनिया राष्ट्रपति सी जिनपिङको विचारधाराबारे प्रशिक्षणसमेत दिएका कारण नेपालको तटस्थ परराष्ट्र नीतिमा विचलन आउने हो कि भन्ने चिन्ता पनि विभिन्न कोणबाट प्रकट गरिएको छ।

नेपाल कम्युनिष्ट पार्टी र चिनिया कम्युनिष्ट पार्टीबीचको ६ बुँदे समझदारीलाई पनि समीक्षकहरुले चासोका रुपमा लिएका छन् । त्यसो त, ६ बुँदामा तटस्थता डगमगाउँने कुनै बुँदाहरु देखिंदैनन् ।

समझदारीका ६ बुँदामा भनिएको छ, ‘उच्चस्तरीय भ्रमणको आदान–प्रदान, कार्यकर्ता तहको अध्ययन भ्रमणमा सघनता, पार्टी–पार्टीका अनुभव साटासाट गर्ने, युवा र स्थानीय नेताको भ्रमण, बुद्धिजीवी–नागरिक संस्था, सञ्चार क्षेत्रलगायतका जनस्तरका निकायबीचको सम्बन्ध विस्तार र विचार तथा सिद्धान्तमा आधारित वार्षिक कार्यक्रम सञ्चालन गर्ने ।’

नेपाल र चीनका पार्टीबीच मंगलबार भएको यस समझदारीका सम्बन्धमा प्रा. खनाल भन्नुहुन्छ, ‘यो स्वाभाविक हो, दुवै कम्युनिष्ट पार्टीबीच यस प्रकारको भाइचारा सम्बन्ध हुन्छ, तर विचार पुर्याउनुपर्ने पक्ष चाहिं यसबाट नेपालको कुन आवश्यकता पूर्ति भयो वा हाम्रो हित भयो भन्ने नै हो ।’

नेपालले संविधानको मर्मलाई सम्मान गर्नेगरी मित्र राष्ट्रसँग सम्बन्ध बढाउनुपर्छ, असंलग्न परराष्ट्र सम्बन्ध हाम्रो मर्म हुनुपर्छ, प्रा. खनाल भन्नुहुन्छ– व्यवहारमा जता हावा चल्छ उतै ढल्किने गरेको देखिन्छ, त्यसले मुलुकको हित गर्दैन । नेपाल सरकारका सञ्चालकहरुमा कतै न कतै आश्रय नलिए गाह्रो पर्छ भन्ने मानसिकता छ, त्यसमा सुधार हुनु आवश्यक छ, उहाँ भन्नुहुन्छ ।

‘चिनिया राष्ट्रपति सी महत्वाकांक्षी नेता हुन्, महाशक्ति राष्ट्र अमेरिकालाई टक्कर दिन बीआरआई औजार लिएर उनी विश्वव्यापी प्रभावमा निस्किएका छन्’ प्रा. खनालले भन्नुभयो, यसलाई अवसरका रुपमा हामीले प्रयोग गर्नुपर्छ, राष्ट्रको हितमा लगाउनुपर्छ ।

‘बीआरआईलाई कसरी स्वीकार गर्ने भन्ने विषयमा नेपाल चनाखो हुनुपर्छ, यस बेला हामी चुक्यौं भने सधैंका लागि क्षति बहन गर्नेछौं’ डा. उप्रेतीले भन्नुभयो– यस सम्बन्धमा वृहत् विश्लेषण गर्न ढिला हुँदैछ ।राष्ट्रपति सीको भारत र नेपालमा हुनलागेको भ्रमणका बेला यस सम्बन्धमा सहमति हुने सम्भावना छ ।

विगत तीन दशकदेखि नेपाली संस्कृति र मूल्य–मान्यताविपरीत नव उदारवादी पश्चिमेली चिन्तनको विकास अवधारणालाई चिर्न बीआरआई उपयुक्त औजार हो भन्ने एकथरि विश्लेषकहरुको धारणा छ भने विकासलाई नयाँ दृष्टिकोणबाट बुझ्ने अभ्यास सुरु गर्न नै गाह्रो छ भन्ने अर्काथरिको तर्क छ । यति गम्भीर विषयमा चिनिया मित्रहरुबाट नेपाली नेताले के प्रशिक्षण पाए, जनतालाई बुझाउन भने ढिला गर्नुहुन्न ।

बीआरआईलाई जसले सडक सञ्जालको विस्तारका रुपमा बुझेका छन्, त्यसको प्रारम्भ केरुङ–काठमाडौं रेल मार्गबाट सुरुवात गर्नसके मात्र पनि अवधारणाप्रति नेपालीको आस्था अभिवृद्धि हुनेछ ।