उपसभामुखहरूको एउटै बोली ‘उप’ चुप लागेर बस्नुहुँदैन


मधुसूदन रायमाझी, काठमाडौं ।संघीय संसद्का उपसभामुख र सातवटै प्रदेश सांसदका उपसभामुखले एकआपसमा अनुभव आदानप्रदान गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन्।

संघीय संसद्को उपसभामुख र प्रदेशका महिला उपसभामुखले भोग्दै आएको समस्या समान रहेकाले उप चुप मात्र लागेर बस्नेभन्दा पनि सिर्जनात्मक काम गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका हुन्।

संघीय र प्रदेशका उपसभामुखबीच संसद् सञ्चालन गर्दा भोग्नुपरेको समस्या आइपर्ने चुनौती र समस्या समाधानका लागि एकताबद्ध भएर अगाडि बढ्ने निष्कर्ष निकालेका छन्।

संघीय व्यवस्थाअनुसार सातवटै प्रदेशमा उपसभामुखले संसद् सञ्चालन गर्दा भोग्नुपरेको समस्याको बारेमा संघीय संसद्का उपसभामुखसँग खुलेरै छलफल गरेका छन्।

उपसभामुखले भोग्दै आएको समस्या संघ र प्रदेशमा एकै खालको रहेको निष्कर्ष पनि बैठकले निकालेको छ।
संघीय संसद्की उपसभामुख शिवमाया तुम्बाहाम्फेले आम नेपाली महिलाले भोगेका समस्या जस्तै महिला उपसभामुख पनि पितृसत्तात्मक सोचको शिकार भएको बताउनुभएको छ।

संविधानले संघीय संसद् र प्रदेशमा उपसभामुख महिला हुनुपर्ने कतै उल्लेख नगरे पनि व्यवहार भने महिला भनेका उप मात्र हुन् भन्ने सन्देश गएको बताउनुभयो।

उपसभामुखले सधैँ उपसभामुखमा चित्त बुझाएर बस्ने नभई सिर्जनात्मक काममा लाग्नुपर्ने बताउँदै उहाँले भन्नुभयो– ‘उपसभामुखले सृजनात्मक काम गरेर सभामुखउन्मुख छौं, उप भनेर चुप लागेर बस्नुपर्छ भन्ने होइन।’

हरेक महिला प्रतिस्पर्धामा टिक्नुपर्ने धारणा राख्दै उहाँले अवसरको खोजी महिलाहरू स्वयम्ले गर्नुपर्नेमा जोड दिनुभयो।

‘सधंै आरक्षणको खोजी गर्नेभन्दा पनि क्षमताको विकास गरेर सिर्जनशील काम गरेर महिला पनि समाजमा समान हंैसियतमा अगाडि बढ्नुपर्छ’, उपसभामुख तुम्बाहाम्फेले भन्नुभयो– ‘सक्षम बन्नुपर्छ, समानता प्राप्त गर्न दुःख गर्नुपर्छ, अधिकारसँगै कर्तव्य पनि पूरा गर्नुपर्छ, दृढताका साथ अगाडि बढ्ने हो भने उपमै सीमित बन्नुपर्दैन।’

संघीय संसद्को उपसभामुखको पहलमाा छलफलमा संघीय संसद् र प्रदेशसभाको अनुभव आदानप्रदान गरेको, प्रदेश सभामा अनुभव गरेको समस्यालाई संघीय संसद्ले कसरी सहजीकरण गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो।

संघीय र प्रादेशिक संसद्का उपसभामुखले मंगलबार काठमाडौंमा गरेको बैठकबारे उपसभामुख तुम्बाहाम्फेले उच्च मनोबलका साथ अगाडि बढ्दा मात्र सफलता मिल्ने विश्वास व्यक्त गर्नुभयो।

राष्ट्रियसभा अध्यक्ष शशीकला दाहालले महिला सांसदको समाचार मिडियामा कम प्राथमिकतामा पर्ने गरेको र राष्ट्रियसभाको समाचार पनि कम आउने गरेकाले त्यसमा ध्यान दिन पत्रकारलाई आग्रह गर्नुभयो। उहाँले भन्नुभयो– ‘प्रतिनिधिसभा र राष्ट्रियसभा समान नै हो तर मिडियाको ध्यान राष्ट्रियसभामा परेको देखिँदैन।’

बैठकमा सुदूरपश्चिम प्रदेशकी उपसभामुख निर्मला जोशीले उपसभामुखको भेलालाई आन्दोलनका रुपमा नबुझ्न आग्रह गर्दै सभामुखको कामलाई थप सहयोग पुगोस् भनने उद्देश्यका साथ भेला गरेको बताउनुभयो।

‘विगतमा संघमा एक जना मात्र उपसभामुख रहने गरेकोमा अहिले प्रदेशमा पनि उपसभामुखहरू रहेकाले उपसभामुखहरू मिलेर केही गरौँ भन्ने भेलाको मुख्य उद्देश्य हो’ –उहाँले भन्नुभयो।

कतिपयले ‘उप’ पद भनेर सानो मान्ने गरेको भए पनि आफूलाई आफ्नो भूमिकाप्रति गर्व लागेको बताउँदै उहाँले भन्नुभयो– ‘संसद् बैठक सञ्चालन गर्दा मैले आफूलाई सफल पाएकी छु।’

उहाँले प्रदेशमा ५३ जना सांसदमध्ये १८ जना महिला रहेको बताउँदै ७ प्रदेशमन्त्रीमध्ये २ जना महिलामन्त्री रहनुका साथै संसदीय समितिमा २ समितिमा महिला सभापति रहेको जानकारी दिनुभयो। उहाँका अनुसार सुदूरपश्चिम प्रदेशले ३१ वटा कानुन पारित भइसकेको छ।

त्यसैगरी प्रदेश–२ की उपसभामुख उपमा देवले सभामुखसँग छलफल गरेर अघि बढिरहेको बताउँदै कुनै पनि समस्या नरहेको बताउनुभयो। उहाँले अहिलेसम्म एउटा बैठक पनि आफूले शुरु र अन्त्य नगरेको जानकारी गराउँदै सबै काममा सभामुखले सहयोग गर्ने गरेको बताउनुभयो।

कर्णाली प्रदेशकी उपसभामुख पुष्पा घर्तीले आफैंले कुर्सी टेबल जम्मा गरेर प्रदेशसभा शुरु गरेको बताउँदै डेढ वर्षको अवधिमा संसदीय अभ्यास, कानुन निर्माण प्रक्रियाबारे अगाडि बढेको बताउनुभयो।

संसद् भवनमा कति बेला कुन सांसदले नियमापत्ति गर्ने हो त्यसबेलाका लागि संसद् सञ्चालन नियमावली हेरेर तत्काल समाधान गर्न सक्ने भएको बताउँदै राजनीतिक पृष्ठभूमिबाट आएकाले निष्पक्ष भूमिका निर्वाह गर्न सचेत भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

प्रतिनिधिसभाका उपसभामुख तुम्बाहाम्फेको पहलमा राष्ट्रियसभा उपाध्यक्ष र सातवटै प्रदेशका उपसभामुखले यसअघि चन्द्रागिरी, चितवनको सौराहामा भेला गरेर बैठक गर्नुका साथै असोज ७ गते भिडियो कन्फरेन्सको प्रयोग गर्दै छलफल गर्नुभएको थियो।