धरान फुटबल क्लब अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश


न्युज अफ नेपाल, मोरङ । धरान फुटबल क्लब तेस्रो बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

मोरङको बेलबारीस्थित लक्ष्मीमार्गमा बुधबार भएको पहिलो सेमीफाइनलमा धरानले काठमाडौंको मदन भण्डारी स्र्पोट्स एकेडेमीलाई २–१ गोलले हराउँदै फइनल भीडन्तका लागि स्थान पक्का गरेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलको पाँचौं मिनेटमा धरानका लागि वर्तमान राईले सशक्त प्रहार गर्दै सुरुवाती गोल गरेका थिए। त्यसपछि दुवै टोली गोलका लागि मैदानमा प्रयासरत रहे। पहिलो हाफको खेल सकिदाँसम्म धरानको टोली १–० को अन्तर कयाम राख्न सफल भयो।

दोश्रो हाफमा एकेडेमीले गोलको लागि केही राम्रो अवसर पाएको भएपनि अन्तिम क्षणको फिनिसिङ टच फितलो हुदाँ खेल धरानको पक्षमा पुगेको थियो। सोही क्रममा खेलको ८० औं मिनेट धरानको लागि कर्ण लिम्बूले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।
वर्तमान राईको स्थानमा मैदानमा प्रवेश गरेका उमेश राईले उपलब्ध गराएको सटिक पासमा कर्णले आकर्षक गोल गरेका थिए। अर्कोतर्फ खेलको अन्तिम तीन मिनेट सम्हालिन नसक्दा धरानले एक गोल आत्मसात गर्न पुग्यो।

खेलको ८७ औं मिनेटमा एकेडेमीका सुशान्त तामाङले जीवन धामीको क्रसमा बललाई वानमा टच जाली चुमाएका थिए। त्यसपछि एकेडेमीले गोल अन्तरलाई बराबरीमा पुराउन नसक्दा हार ब्यहोर्न पुग्यो।

जीत हात पारेको धरानले बिहीबार हुने दोश्रो सेमीफाइनल खेलको विजेता टोलीसँग शुक्रबार फाइनलमा स्पर्धा गर्नेछ।बिहीबारको अन्तिम सेमीफाइनलमा विभागीय टोली एपीएफले र भारतको रोयल क्लबसंग भिड्नेछ।