घरेलु हिंसा गर्ने ससुरा, सासु र जेठाजुलाई तीन महीना कैद


न्युज अफ नेपाल, दार्चुला । घरेलु हिंसा गरेको ठहर गर्दै जिल्ला अदालत दार्चुलाले ससुरा, सासु र जेठाजुलाई तीन महीना कैदको फैसला सुनाएको छ ।
महाकाली नगरपालिका–७ की २४ वर्षीया विमला जोशीलाई ६५ वर्षीय ससुरा प्रमानन्द जोशी, ५५ वर्षीया सासु पार्वती जोशी र ३० वर्षीय जेठाजु श्यामराज जोशीले घरेलु हिंसा गरेकोले जिल्ला अदालत दार्चुलाले उनीहरुलाई कैदको फैसला सुनाएको हो ।

आरोपितत्रयलाई दोषी ठहर गर्दै तीन-तीन महीना कैद र जनही रु २० हजार जरिवानाको फैसला सुनाएको जिल्ला अदालतले जानकारी दिएको छ ।

पीडित महिलाका श्रीमान् नवीनचन्द्र जोशी रोजगारीको सिलसिलामा बाहिर गएको अवस्थामा सासु, ससुरा र जेठाजुले आफूलाई शारीरिक, मानसिक, यौनजन्य र आर्थिक यातना दिएको भन्दै पीडित महिलाले २०७६ वैशाख २ गते जिल्ला अदालत दार्चुलामा मुद्दा दर्ता गराएकी थिइन् । कसुर ठहरिएका तीनै जनालाई पक्राउ गर्न बाँकी रहेको प्रहरीले जनाएको छ । मुलुकी अपराधसंहितामा तीन वर्षभन्दा कम कैद सजाय तोकिएका कसुरदारले तोकिएको रकम बुझाएमा कैद बस्नु नपर्ने उल्लेख छ ।
दार्चुला जिल्लामा घरेलु हिंसा कसुर सजायमा मुद्दा दर्ता भएर फैसला सुनाइएको यो पहिलो घटना हो । यसअघि घरेलु हिंसासम्बन्धी उजुरी आए पनि प्रहरीको महिला सेलमै मिलापत्रमा टुङ्गिने गरेको छ ।