पर्यटकहरुको सुरक्षामा पर्यटक प्रहरी थप सक्रिय हुनुपर्नेः प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल


न्युज अफ नेपाल, काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भिजिट नेपाल वर्ष २०२० लाई लक्षित गर्दै नेपाल भ्रमणमा आएका पर्यटकहरुको सुरक्षामा कुनै पनि किसिमको त्रुटि नहुने गरी पर्यटक प्रहरी कर्मचारीहरु थप क्रियाशील हुनुपर्ने बताउनुभएको छ ।
पर्यटक प्रहरी इकाई भृकुटीमण्डपमा बुधबार पर्यटक प्रहरी इकाईहरुमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताउनुभएको हो ।

सो अवसरमा प्रहरी महानिरीक्षक खनालले पर्यटक प्रहरीले सम्पूर्ण देशकै प्रतिनिधित्व गर्ने भएकोले पर्यटक प्रहरीको व्यवहार, बोली, वचन, पोशाक लगायत नमूनायोग्य हुनुपर्ने बताउनुभयो ।

पर्यटक प्रहरीले पर्यटनसँग सम्बन्धित निकायहरु पर्यटन बोर्ड तथा पर्यटन मन्त्रालयसँग थप समन्वय गरेर काम गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले भन्नुभयो, ‘पर्यटक प्रहरीले समस्यामा परेका पर्यटकलाई जति छिटो सहयोग गर्न सक्छ, त्यसले नै प्रहरी र राष्ट्रको छवि राम्रो बन्छ ।’
समुदाय-प्रहरी साझेदारी अवधारणा अनुसार समुदायसँग पनि समन्वय गरेर पर्यटक प्रहरीले उत्कृष्ट कार्य सम्पादन गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले पर्यटक प्रहरीले पर्यटकलाई सकारात्मक प्रभाव पार्ने गरी आ-आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिनुभयो ।

सो अवसरमा पर्यटक प्रहरी इकाई भृकुटीमण्डपका प्रमुख प्रहरी निरीक्षक अमृत बहादुर बस्नेतले उक्त इकाईले संचालन गर्दै आएका कार्यहरु र कार्ययोजना लगायतका विषयमा जानकारी दिनुभयो ।

कार्यक्रममा प्रहरी प्रधान कार्यालय कार्य एवं अपराध अनुसन्धान विभागका प्रहरी नायव महानिरीक्षक पिताम्बर अधिकारी र महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीको समेत उपस्थिति रहेको थियो ।