नेकपा चिनियाँ कम्युनिष्ट पार्टीको भातृ संगठन भएको खाँणकाे आरोप


यमलाल भुसाल, बुटवल । नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले नेपाल कम्युनिष्ट पार्टी नेकपा चिनियाँ कम्युनिष्ट पार्टीको भातृ संगठन भएको आरोप लगाउनु भएको छ । नेपालको सत्तासिन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनिया कम्युनिष्ट पार्टी बिच मंगलबार मात्रै छ बुँदे सम्झौता भएको थियो ।

नेकपा चिनियाँ कम्युनिष्ट पार्टीको भातृ संस्थाको रुपमा सञ्चालन हुनेगरी सम्झौता भएको दावी गर्दै नेपालमा कम्युनिष्ट निरंकुशता ल्याउन खोजिएको उहाँले जिकिर गर्नुभयो । कम्युनिष्ट शासनमा नागरिक स्वतन्त्रता हनन् हुने भएकाले नेकपाको निरंकुशता नेपाली जनतालाई स्वीकार्य नहुने बताउनुभयो ।
पार्टीका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री समेत रहनु भएका नेता खाँणले दुई देशका कम्युनिष्ट पार्टीको सम्झौताले मुलुकको कुटनीतिक, राष्ट र राष्ट्रियतालाई गम्भिर असर गर्ने भन्दै त्यसप्रति आपत्ति प्रकट गर्नुभयो ।

त्यस्तै उहाँले जननिर्वाचित प्रतिनीधिलाई व्यङ्ग्य गर्ने र होच्याउने अधिकार राष्ट्रपतिलाई नभएको बताउँदै संवैधानिक दायरामा बसेर आफ्ना स्वर्गीय पति मदन भण्डारीको हत्याराको खोजी गर्न सुझाव दिनुभयो । ‘जननिर्वाचित प्रतिनीधिलाई व्यङ्ग्य गर्ने र होच्याउने अधिकार राष्ट्रपतिलाई छैन ।’ प्रमुख सचेतक खाँणले भन्नुभयो–‘प्रधानमन्त्री केपी ओलीलाई लिएर दासढुंगा जानुहोस र आफ्ना पति स्वर्गीय मदन भण्डारीको हत्यारा पत्ता लगाउनुहोस, त्यसो भयो भने तपाईको आत्माले पनि शान्ति पाउने छ ।’

नेपाली काँग्रेस रुपन्देही प्रदेश निर्वाचन क्षेत्र २ (क)ले दोस्रो चरणको राष्ट्रिय जागरण अभियानमा सहयोग गर्नेहरुलाई सम्मानकालागि रुपन्देहीको ड्राईभर टोलमा बुधवार आयोजना गरिएको कार्यक्रममा बोल्दै नेता खाँणले सरकारले संवैधानिक व्यबस्था अनुसारका स्वतन्त्र निकायहरुलाई कमजोर बनाउने गरी बिधेयक ल्याएको बताउँदै त्यस्ता संविधान प्रतिकुल देखिएका विधेयकहरु पास हुन नदिने प्रष्ट पार्नुभयो ।

लोकतन्त्र र संविधानको रक्षाका लागि पुनः काँग्रेस जाग्नु पर्ने बेला आएकोले पार्टी भित्रका मतान्तर र तिक्ततालाई बिसेर सरकारका गलत कामको बिरुद्धमा एकजुट हुन पनि उहाँले नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

उहाँले नेपाली काँग्रेस कमजोर हुँदा काँग्रेसका नेता कार्यकर्ता मात्रै कमजोर नभएर राष्ट्र राष्ट्रियता, लोकतन्त्र पनि कमजोर हुने र अप्रजातान्त्रिक शक्तिहरुले टाउको उठाउने भएकाले मुलुकको बिकास र समृद्धिको लागि पार्टीलाई सवल बनाउने काम सबैको दायित्व भएको उल्लेख गर्नुभयो ।