बाघको छालासहित तीन पक्राउ


न्युज अफ नेपाल, चितवन । चितवनमा बाघको छालासहित तीन जना पक्राउ परेका छन् । बागलुङको ढोरपाटन घर भएकी २६ वर्षीया हिम साङ्वो गौचन, रुपनदेहीका ४३ वर्षीय चिरन्जिवी सेन ठकुरी र पाल्पाको निस्डिका ३३ वर्षीय गंगा बहादुर लामा पक्राउ परेको जिल्ला प्रहरी कार्यलय चितवनले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यलय चितवनले बिक्री वितरणका लागि मोलतोल गरिरहेको अवस्थामा नारायणगढबाट उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार प्रहरी टोली आफै ग्राहक बनेर उनीहरुलाई नियन्त्रणमा ल्याउन सफल भएको हो । झोलामा लुकाएर ल्याएको बाघको छाला तथा दाँतको २५ लाख मूल्यमा किनबेच गर्ने तयारी भएको थियो । प्रहरीले उनीहरुबाट ३ थान छालासहित बाघको दाँत समेत बरामद गरेकोे छ ।
प्रहरीका अनुसार उनीहरुले बागलुङ जिल्लाको ढोरपाटनबाट बेचबिखनको लागि चितवन ल्याएको बुझिन्छ । बरामद बाघको छाला र पक्राउ परेकाहरुलाई आवश्यक कानूनी कारवाही तथा अनुसन्धानको लागि जिल्ला डिभिजन वन कार्यालय चितवनमा बुझाइएको छ ।

पक्राउ परेका तीनै जनालाई संकटापन्न वन्यजन्तु तथा बनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३ अनुसार कारवाही प्रक्रिया अगाडि बढाइने छ । उनीहरु दोषी ठहर भएमा पाँच लाख रुपैयाँदेखि दश लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।