दुई कम्युनिस्ट पार्टीबीच ६ बुँदे समझदारी


नेपाल समाचारपत्र, काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)बीच औपचारिक सम्बन्ध स्थापनाको समझदारी पत्रमा हस्ताक्षर भएको छ। दुवै मुलुकका सत्तारूढ कम्युनिस्ट पार्टी आपसी निकटता बढाउन पार्टीको विचार, अनुभव, अध्ययन र भ्रमण आदान प्रदान गर्न सहमत भएका हुन्।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा दुवै पार्टीका विदेश विभाग प्रमुखले यस्तो समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ।दुई पार्टीबीच भाइचारा सम्बन्ध स्थापनाका लागि नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र नेपाल भ्रमणमा रहनुभएका सीपीसीका विदेश विभाग प्रमुख सोङ ताओले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो।

पार्टीका नेताका अतिरिक्त कार्यकर्ता तहबीचमा भ्रमण र प्रशिक्षण आदान प्रदान गर्ने र जनस्तरको सम्बन्धलाई अझ फराकिलो बनाउन यस्तो समझदारी भएको नेकपा नेतृत्वले जनाएको छ।सी जिनपिङ नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचारधाराको परिचयात्मक कार्यक्रम तथा दुवै पार्टीबीचको सैद्धान्तिक विचार गोष्ठीमा सहभागी हुन सोङ नेतृत्वको चिनियाँ टोली सोमबार काठमाडौं आएको हो।

नेपाल र चीनका सत्तारूढ कम्युनिस्ट पार्टीबीच पहिलोपटक यस्तो वैचारिक छलफल भएको हो। दोस्रो कार्यकालका लागि सीपीसीका महासचिव र राष्ट्राध्यक्ष चयन हुनुभएका चिनियाँ राष्ट्रपति सीलाई साम्यवादी चीनका संस्थापक नेता माओत्सेतुङपछिका शक्तिशाली मानिएको छ।

 

सीको विचारलाई सीपीसीले अन्तर्राष्ट्रियरूपमा स्थापित गर्ने प्रयास गरिरहेको छ। सीपीसीका विदेश विभाग प्रमुख सोङ सहभागी अहिलेको जमघटलाई चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणको तयारीका रूपमा समेत हेरिएको छ।

 

सी यही असोज अन्तिम साता नेपाल भ्रमणमा आउने भएसँगै दुवै मुलुक भ्रमणको तयारीमा जुटेका छन्। तर अहिलेसम्म भ्रमणको औपचारिक मिति भने सार्वजनिक भएको छैन।यसैबीच विदेश विभाग प्रमुख सोङले मंगलबार नेकपाका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ।

उहाँहरूको भेटवार्ता चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण दुवै पार्टीबीचको आगामी दिनको सहकार्य र नेपालमा चिनियाँ सहयोग बढाउने बारेमा केन्द्रित रहेको बताइएको छ। सोङले सोमबार प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरिसक्नुभएको छ।

 

समझदारीका ६ बुँदा

१. उच्चस्तरीय भ्रमण

२. कार्यकर्ता तहको अध्ययन भ्रमणमा वृद्धि

३. पार्टी–पार्टी अनुभवमा आधारित सहयोग आदानप्रदान

४. युवा र स्थानीय नेताबीच भ्रमण आदानप्रदान
५. जनस्तरको सम्बन्ध (बुद्धिजीवी, नागरिक संस्था, मिडिया) अभिवृद्धि
६. विचार सिद्धान्तमा आधारित वार्षिक कार्यक्रम सञ्चालन