लगातार तेस्रो पटक पाटा नेपाललाई अन्तरराष्ट्रिय पुरस्कार   


न्युज अफ नेपाल, काठमाडौँ । प्यासिफिक एशिया ट्राभल एसोसिएशन (पाटा) नेपाल च्याप्टरले लगातार तेस्रो पटक ‘पाटा बेष्ट एन्गेजमेन्ट विद यङ्ग टुरिज्म प्रोफेशनल अवार्ड’ जितेको छ ।

काजखस्तानको नुरसुल्तान (अस्टाना) मा आयोजित पाटा ट्राभल मार्टको ४२औँ संस्करणले नेपाललाई उक्त पुरस्कार प्रदान गरेको पाटा नेपालले जनाएको छ । शनिबार भएको पाटा च्याप्टर अवार्ड प्रस्तुतीकरण समारोहमा पाटा अध्यक्ष क्रिस बोट्रिल र प्रमुख कार्यकारी अधिकृत मारियो हार्डीले पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडाललाई उक्त पुरस्कार प्रदान गर्नुभएको थियो ।

पुरस्कार ग्रहण गर्दै बुडालले लगातार तेस्रोपटक ‘पाटा बेष्ट च्याप्टर अवार्ड’ पाउनुले नेपालको पर्यटनको गरिमा बढेको बताउनुभयो । उहाँले नेपाल भ्रमण वर्ष २०२० अभियानको प्रवद्र्धनात्मक गतिविधि तथा संस्थाले गरेका कार्यहरु एवम् भावी योजनाका बारेमा जानकारी दिनुभएको थियो ।

सोही कार्यक्रममा पाटा नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले पाँच वटा निजी क्षेत्रका पर्यटन व्यवसायी कम्पनीहरु क्रमशः द एक्सप्लोर नेपाल, नेपाल होलिडे मेकर्स टुर्स एन्ड ट्राभल्स, हिमालयन होलिडेज, फिसटेल टुर्स एन्ड ट्राभल्स र भृकुटी हिमालयन ट्रेक्सले अस्टानामा अयोजित मेलामामा नेपालको गन्तव्यहरुको प्रवद्र्धन गरेका थिए । काजखस्तानमा भएको उक्त मेलामा विश्वभरिका ६३ गन्तव्यबाट एक हजार २०० जनाले सहभागिता जनाएका थिए ।

मेलामा आमन्त्रित क्रेताहरु तथा सहभागीहरुबीच आगामी वर्ष फेब्रुअरी तथा जुनमा आयोजना गरिने नेपाल–इन्डिया–चाइना एक्स्पो (नाइस) र हिमालयन ट्राभल मार्ट २०२० को समेत प्रचारप्रसार एवं प्रवद्र्धन गरिएको पाटा नेपालले विज्ञप्तिमार्फत जनाएको छ ।