बेनीमा नाइन–ए साइड फुटबल प्रतियोगिता सुरु


प्रताप बानियाँ, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा मङ्गलबारदेखि नाइन–ए साइड खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ । ‘विकास र शान्तिका लागि युवा नेतृत्व’ भन्ने मूल नारासहित कालीपुल युनाइटेड क्लबको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य भूपेन्द्रबहादुर थापाले खेलकुद एउटा महत्वपूर्ण विधा भएकाले यसलाई व्यावसायिक रुपमा अगाडि लैजानुपर्ने बताए । उनले खेल र खेलाडी राष्ट्रको गहना भएकाले राज्यले प्राथमिकता दिएको बताउँदै खेलाडीहरुलाई अनुशासनपूर्वक खेल खेलेर दर्शकहरुको मन जित्न आग्रह गरेका छन् । गण्डकी प्रदेशका सदस्य विनोद केसीले खेलकुद क्षेत्रले राष्ट्रलाई चिनाउने भएको हुँदा खेल क्षेत्रको विकास र स्तरोन्नतिका लागि जोड दिइएको बताए ।

कार्यक्रमको उद्घाटनसत्र क्लब अध्यक्ष विकास पुनको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष राजु पुनको स्वागत र सहसचिव सोनिया पुनको सञ्चालनमा सम्पन्न भएको थियो । उद्घाटन खेलमा बौद्ध युवा क्लब मंगलाघाट ‘बि’ले १ का विरुद्ध ३ गोल गर्दै कालीपुल युनाइटेड क्लब ‘सी’लाई पराजित गरी दोस्रो चरणमा प्रवेश गरेको छ । दोस्रो खेलमा एभरग्रीन ह्वाइट क्लब बेनीले शुन्यका विरुद्ध १ गोल गर्दै युनाइटेड फोर युथ क्लब बागलुङलाई पराजित गरी दोस्रो चरणमा प्रवेश गरेको आयोजकले जनाएको छ ।

यसैगरी तेस्रो खेलमा विर गोर्खाली युथ क्लब बागलुङले कालीपुल युनाइटेड क्लब बिलाई ३ का विरुद्ध ५ गोल गर्दै विजयी हासिल गरेको छ । प्रतियोगिताको निर्धारित समयमा दुवै पक्षबाट एकएक गोल बराबर भएपछि पेनाल्टी सुटआउटमार्फत ५ गोल गरेर विर गोर्खाली बागलुङ दोस्रो चरणमा प्रवेश गरेको क्लब अध्यक्ष पुनले जानकारी दिए ।

आउँदो शनिबारसम्म चल्ने प्रतियोगितामा म्याग्दी, पर्वत र बागलुङ जिल्लाका गरी कुल १७ टिमले सहभागिता जनाएका छन् । प्रतियोगितामा प्रथम र द्वितीय हुनेले क्रमशः नगद एकलाख ३५ हजार पाँचसय ५५ र ७५ हजार पाँचसय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।

यसैगरी सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर र मिडफिल्डरलाई क्रमशः नगद पाँचहजार पाँचसय ५५ रुपैयाँसहित मेडल र प्रमाणपत्रले पुस्कृत गरिनेछ । सेमीफाइनलबाट बाहिरिने टिमलाई नगद १५ हजार र ट्रफी तथा अनुशासित टिमलाई सातहजार सातसय ७७ रुपैयाँसहित मेडल र प्रमाणपत्र दिइनेछ ।