प्रहरीसंग सवाल जवाफमा – महिला


सुनील महर्जन, ललितपुर । ‘ललितपुर टंगल टोल आसपासका गल्लीहरुमा रात परेपछि गाजाँ सेवन गरिरहेका भर्खरका तन्नेरीहरु टन्नै भेटिन्छन् । बाटोमा हिड्नै नहुने गरी तिनिहरु सधैं गाजाँ खाइरहेका हुन्छन् । भाई यहाँ बसेर नखाउ भन्दा उल्टै हामीलाई धम्काउछन् । के गर्ने होला ?’

तबहाल निवासी गीता बज्राचार्यले मंगलबार महानगरीय प्रहरी निरीक्षक चन्चला श्रेष्ठसंग समस्या राख्दै प्रश्न गर्नुभयो । जीवनमा प्रहरीसंग खासै कुराकानी नगरेकी ५० वर्षीया बज्राचार्यले भन्नुभयो ‘ गल्लीबाट आवातजावत गर्ने क्रममा ती केटाहरुले केही गर्ने हो कि भन्ने डर लिएर हिड्नुपर्ने अवस्था छ ।
५० वर्षीया बज्राचार्यले यसअघि प्रहरीसंग आमनेसामने भएर कहिले कुराकानी गर्नुभएको थिएन। बज्राचार्यलाई यसरी कुराकानी गर्ने अवसर ताम्रकार समाजले जुराईदिएको थियो ।

समाजले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जावलाखेलस्थिति श्री उग्रचण्डीमाई परिसरस्थित समाजको सभाकक्षमा मंगलबार महिला हिसा न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको थियो । अन्तरक्रियापछि शुरुमै बज्राचार्यले यसरी प्रश्न राख्नुभयो ।

‘आफ्नो टोल, छरछिमेकीको समस्या प्रहरीसंग राखे । प्रहरी प्रभागमै आएर अन्य कुराहरु राख्न प्रहरीले प्रोत्साहित गरेको छ ।’ बज्राचार्यले भन्नुभयो । प्रहरीसंग खुलेर कुराकानी गर्नेमा उहाँ एक्लो हुनुहुन्न । उहाँ जस्तै प्रहरीसंग थुपै सहभागीहरुले कार्यक्रमका दौरान पहिलो पटक खुलेर कुराकानी गरेका थिए । ‘हौगलबाट चक्रत्रबहील आउने बाटोमा गाँजा खानेहरु बिगिबिगी रहेको छ । त्यस समस्या समाधान गरिदिनुपर्यो ।’ चक्रबहील टोलका रोशन्तलाल ताम्रकारले भन्नुभयो ।
आफू र आफ्नो वरपरको समस्या खुलेर राख्ने अवस्था बनाउनका लागि समुदाय–प्रहरी साझेदारी अन्तर्गत अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको ताम्रकार समाजका अध्यक्ष रवीन्द्रराज ताम्रकारले बताउनुभयो ।

‘प्रहरी परिसर वा प्रहरी प्रभागमा नयाँ प्रहरी प्रमुख आउँदा आयोजना गरिने परिचयात्मक वा सुरक्षा सम्बन्धी अन्तरक्रिया सधै पुरुषहरुको मात्र उपस्थिति हुने गर्दछ । प्रहरी प्रशासनसंग सर्वसाधारण, त्यसमाथि महिलाको कमै पहुँच वा छलफल नगन्य मात्रा हुने गरेको छ ।’ अध्यक्ष ताम्रकारले भन्नुभयो । यस्तो अवस्थामा प्रहरी समुदाय साझेदारी कार्यक्रमको मर्म महिलाहरु माझ स्थापित गर्न कार्यक्रम आयोजना गरिएको अध्यक्ष ताम्रकारको भनाई रहेको छ ।

ताम्रकार परम्परागत रुपमा तामापितलको भाँडा बनाउने नेवाः समुदाय अन्तर्गतका उपसमुदाय हुन्। ताम्रकार समाज, ललितपुरका ताम्रकारहरुको प्रतिनिधिमूलक संगठन हो । समाजका अध्यक्ष ताम्रकारले भन्नुभयो ‘नेवाः समुदायका मानिसहरु प्रहरीसंग खासै नजिक हुने गर्दैनन्। जीवनमा विभिन्न घटनाक्रमको अनुभवले पनि यस्तो धारणा पालेका होलान् । प्रहरी प्रशासनलाई भयको मनोविज्ञानको रुपमा बुझ्ने गरेको छ । प्रहरी प्रशासनप्रति अपनत्व पनि कमै छ ।’

समाज र राजनीतिक व्यवस्थामा आएको परिर्वतन र बदलिंदो समयसंगै प्रहरी प्रशासनले पनि आफूलाई क्रमशः सुधार गर्दै लगेको अवस्थामा समाजप्रति जवाफदेही, मैत्री बनाउन पनि अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै आएको अध्यक्ष ताम्रकारको भनाई रहेको छ ।समाजका उपाध्यक्ष एवं ललितपुर महानगरपालिका– १९ का वडाअध्यक्ष विनोद ताम्रकारले वडाले पनि यस्ता अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने बताउनुभयो ।

कार्यक्रमले स्थानीयको पीर, मर्का, सुनेर प्रहरी प्रशासनको कामलाई प्रभावकारी बनाउन सघाएको महानगरीय प्रहरी प्रभाग मंगलबजारका प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । ‘यहाँका जनताको भावना, समस्या नबुझिकन प्रहरीले राम्ररी काम गर्न सक्दैन ।’ उहाँले भन्नुभयो ‘सबैसंग अन्तरक्रिया गर्दै प्रहरीको कामलाई राम्रो बनाउने छौं ।’ चोक, बहालमा गाजा खानेहरु युवाहरुलाई हटाउन कदम चाल्ने पनि उहाँको भनाई थियो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले ललितपुरको विशिष्ट संस्कृति,जनताको भावना र मनोविज्ञानलाई बुझेर प्रशासनले काम गर्ने बताउनुभयो । प्रशासनलाई जवाफदेही बनाउने, सुधार गर्ने जिम्मा पनि समुदायको रहेको उल्लेख गर्दै प्रजिअ पाण्डेले सबैसंग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा महानगरीय प्रहरी परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले समुदाय प्रहरी साझेदारीको मर्मलाई हरेक नागरिकको मनमस्तिष्कमा स्थापित गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो । नेवाः समुदायको संस्कृति, भाषाप्रति आफ्नो उच्च सम्मान रहेका जनाउँदै प्रहरीलाई समुदायमैत्री बनाउन मिलेर अघि बढ्ने पनि उहाँको भनाई रहेको छ ।