सशस्त्र प्रहरीको आफ्नो स्थायी भवन नहुँदा बिरालोले बच्चा सारेझैं सरिरहन बाध्य


न्युज अफ नेपाल, हेटौंडा । हेटौंडामा रहेको सशस्त्र प्रहरी बलको आफ्नो स्थायी भवन नहुँदा बारम्बार बसाइँ सरिरहनुपर्ने समस्या छ ।

केही वर्षयता हेटौंडामा रहेको सशस्त्र प्रहरी बलको आफ्नो स्थायी भवन नहुँदा अस्थायी भवनमा सरिरहनुपर्ने बाध्यता रहँदै आएको हो । हाल सशस्त्र प्रहरी बल नेपाल नम्बर–१४ गण हेडक्वार्टर (स्थायी टोली) हेटौंडाको औद्योगिक क्षेत्रमा रहेको बन्द कपडा उद्योगको भवनमा रहँदै आएको छ । यसअघि अस्थायी पोष्टमा रहेको सशस्त्र प्रहरी बल कर्रा र अफिसर्स क्लब मकवानपुरको भवनमा आश्रित थियो ।

सशस्त्र प्रहरी बलको टोली हेटौंडामा नै बस्ने भएपछि सुरुवातको समयमा अफिसर्स क्लबमा बसेको थियो । त्यसपश्चात् २०७४ सालमा आफ्नै भवन निर्माण गरी प्रहरी हेटौंडा कर्रास्थित निर्मित ब्यारेकमा गएको २ वर्ष नपुग्दै बास उठ्यो । त्यसपश्चात् सशस्त्र प्रहरी अफिसर्स क्लबमै फर्किएको थियो । कठिनसाथ हेटौडा अफिसर्स क्लबमा बसेका सशस्त्र टोली सात महिनापछि २०७४ फागुन ३ गते पुनः कर्रा फर्केको थियो ।

हेटौंडा, प्रदेश नम्बर–३ को राजधानी भएसँगै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवहरु अफिसर्स क्लबमा बस्ने भएपछि प्रहरी कर्रा फर्कन बाध्य भएको थियो । कर्रास्थित भवनको आँगनमा गे्रगर नै ग्रेगर रहेका कारण प्रहरीलाई खेलकुद तथा कसरतका लागि अप्ठ्यारो प¥यो । सबभन्दा मुख्य समस्या वर्षाका कारण भल ब्यारेकभित्र पस्ने भएकोले हाल सशस्त्र प्रहरी बल कपडा उद्योगमा स्थानान्तरण भएको छ ।

२०७२ मंसिर ५ गते तत्कालिन प्रहरी उपरीक्षक बलराम पोखरेलको पहलमा ४५ लाख हाराहारी लागतमा भवन निर्माण भएको थियो । तर, उक्त भवन खोलानजिक भएका कारण लामो समयसम्म टिकाउ हुन सकेन । त्यसबेला अस्थायी पोष्टमा ५० जनाको टोली रहँदै आएकोमा हाल करिब तीन सयको हाराहारीमा प्रहरी छन् ।
प्रहरी जवान भन्छन्–हामीलाई त बिरालोले बच्चा सारेजस्तो महसुस भइरहेको छ ।

धरै ठाउँमा सर्दासर्दा झन्झट छ । युनिट प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विकास घिमिरेका अनुसार स्थायी भवन नभएका कारण कपडा उद्योगमा बस्नुपर्ने बाध्यता छ । ‘उद्योगमा बस्न त खासै समस्या त छैन, तर आफ्नो भवनमा बस्न पाए राम्रो हुने थियो,’ घिमिरेले आशा राख्नुभयो ।

हेटौंडामा करिब सातसय प्रहरी आवश्यक छ । तर, ठाउँ नभएका कारण तीन सय जनामात्र रहेको उहाँले बताउनुभयो । ‘स्थायी बसोबासका लागि हामीलाई करिब १५ बिगाहा जग्गा आवश्यक छ,’ घिमिरेले भन्नुभयो । उहाँ भन्नुहुन्छ–यसका लागि दुई-चार ठाउँमा जग्गा हेरिरहेका छौं, समस्याको समाधान चाँडै हुने आशा गरौं ।