प्राङ्गारिक तरकारी खेती प्रवद्र्धनका लागि ४१ वटा हरितगृह निर्माण


यमलाल भुसाल, बुटवल । बुटवल उपमहानगरपालिकाले प्राङ्गारिक तरकारी खेतीमा किसानलाई प्रेरित गर्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेको छ । नगरका खेतीयोग्य ठाउँमा किसानलाई तरकारी वाली लगाउने तरिका सिकाउनुका साथै अनुदानसमेत उपलव्ध गराइएको छ ।
प्राङ्गारिक तरकारी खेतीका लागि प्रशिक्षणका साथै पहिलो चरणमा ४१ वटा हरित गृह निर्माण गर्दै अभियान अगाडि बढाइएको बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बताउनु भयो ।

प्राङ्गारिक तरकारीका लागि स्वस्थ वाली उत्पादन गरी दैनिक उपभोग गर्नुका साथै व्यवसायिकरण गर्ने उद्देश्यले गत आवदेखि नै यस्तो कार्यक्रमको शुभारम्भ गरिएको नगर प्रमुख सुवेदीले बतााउनु भयो ।

बुटवलको वडा नं. ११, १२, १३, १४, १५ , १६ र १८ का गरि ४१ जना किसानका लागि हरितगृह निर्माण गरि प्राङ्गारिक तरकारी खेतीमा प्रोत्साहन गरिएको छ । उपमहानगरमा प्रस्ताव पेश गरेका इच्छुक किसानहरुलाई छनौट गरेर पहिलो चरणको कार्यक्रममा समावेश गरिएको थियो ।

पुस्तौंदेखि चल्दै आएको प्राङ्गारिक खेती प्रणाली नै नेपालका लागि उत्तम विकल्प रहेको विज्ञहरूले बताइरहेका बेलामा बुटवलका केही वडाहरुबाट यस्तो अभियानको सुरुवात गरेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताउनु भयो ।

वातावरणीय क्षेत्रको ह्रास हुने काममा मानवीय क्रियालाप नै पहिलो कारक बन्दै आएकाले यसलाई नियन्त्रण गर्नेखालका कार्यक्रम बुटवलमा सुरु गरिएको उहाँको भनाइरहेको छ ।

जस्तोसुकै मौसममा पनि फलाउन सकिने तरकारीको अध्यय्न गरि त्यसैको पकेट क्षेत्र बनाउने र संगसंगै जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने प्रमुख सुवेदीले बताउनु भयो । विषादीको बढ्दो र अव्यवस्थित प्रयोगलाई कम गर्दै प्राङ्गारिक खेती प्रवद्र्धन गर्न पनि बुटवलले जोड दिंदै आएको छ ।

सिजनल उत्पादन गरी रहेको अवस्थामा अव बेमौषमी तरकारी उत्पादन गरी आयआर्जनमा थप टेवा पुग्ने विश्वास गरिएको बुटवल ११ का किसान आत्माराम सापकोटाले बताउनु भयो ।

हरितगृह निर्माणका लागि बुटवल उपमहानगरपालिकासंग प्रदेश सरकारले पनि सहकार्य गरेको छ । यो कार्यक्रममा किसानहरुको पनि सामान्य लागत सहभागिता रहेको छ ।

४१ वटा हरित गृह अर्थात् ग्रीन हाउस निर्माणका लागि ५० लाख ११ अजार चार सय ३२ रुपैयाँ बजेट लगानी भएको छ । जस्मा प्रदेश सरकारले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो भने सबै किसानहरुको गरेर १३ लाख ७७ जहार आठ सय ५८ रुपैयाँ लगानी भएको छ । यो दुई आवको बजेट कार्यक्रम हो ।

बुटवलका वडा नं. १५ र १६ मा मात्रै १६ वटा हरितगृह निर्माण भएका छन् । यस्तै ११ मा दुई, वडा नं. १२ मा तीन, वडा नं. १३ मा एक, वडा नं. १४ मा तीन र वडा नं १८ मा पाँच वटा हरितगृह निर्माण भएको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिनु भयो ।