अब कांग्रेसको नेतृत्व युवामय हुन्छ



माधवप्रसाद ढकाल
युवा नेता, नेपाली कांग्रेस

गुट–उपगुटमा विभाजित नेपाली कांग्रेस इतिहासकै कमजोर अवस्थामा पुगेको छ। प्रमुख प्रतिपक्षको भूमिकामा समेत कमजोर देखिएको कांग्रेसभित्र अब नेतृत्वमा युवा पुस्ता आउनुपर्छ भन्ने बहस चलिरहेको छ। युवा नेता माधवप्रसाद ढकाल पनि १४औं महाधिवेशनमा नेतृत्वको लागि युवा पक्ति अघि बढ्ने बताउनुहुन्छ। नेपाली कांग्रेसको नर्सरीको रूपमा चिनिने नेपाल विद्यार्थी संघमा आबद्ध भई विद्यालयमा अध्ययन गर्दा नै तपेश्वर उमाविको अध्यक्ष, पशुपति बहुमुखी क्याम्पसको स्ववियु सदस्य हुँदै जिल्ला अध्यक्षसमेत भइसकेका ढकाल नेविसंघको निवर्तमान सह–महामन्त्री पनि हुनुहुन्छ। प्रस्तुत छ, ढकालसँग नेपाल समाचारपत्रका लागि रामकृष्ण चापागाइंले गरेको कुराकानीः

नेपाल विद्यार्थी संघमा नयाँ नेतृत्व आउन किन ढिला भइरहेको छ ?

नेपाल विद्यार्थी संघको नेतृत्व विगत ६ महिनादेखि खाली छ। नैनसिंह महरको नेतृत्वमा रहेको नेविसंघलाई कांग्रेस केन्द्रीय समितिले विघठन गर्यो। पार्टीमा नयाँ नेतृत्व स्थापित हुने डरले र पार्टीका नेताहरूले आफ्ना नजिकका विद्यार्थी नेतालाई नेतृत्वमा ल्याउने उद्देश्यले नेविसंघ विगठन गरेका हुन्।

साथै, नेविसंघमा पनि मातृ पार्टीमा जस्तै गुट–उपगुट मौलाएको कारणले गर्दा पनि आज नेविसंघमा नयाँ नेतृत्व निर्माण हुन सकेको छैन।

नेविसंघका नेता विभिन्न गुटमा विभाजित छन्, यसलाई लुकाउन मिल्दैन। जसले निर्वाचनमार्फत नेतृत्व लिन सक्दैनन् तिनीहरूलाई अधिवेशन जसरी पनि हुन नदिने र नेविसंघलाई पार्टी नेतृत्वको हातमा पुर्याउनु पर्ने थियो।

पार्टी नेतृत्वले नेविसंघमा जबरजस्ती नेतृत्व चयन गर्न लागेको आरोप छ नि ?

नेपाली कांग्रेसको इतिहासदेखि हासम्मको नेतृत्वलाई हेर्ने हो भने नेविसंघ २०२७ सालमा स्थापित भएदेखि हालसम्म जम्मा ११ पटक महाधिवेशन सम्पन्न भएको छ। नेतृत्व भने विभिन्न तरिकाबाट कांग्रेस केन्द्रीय समितिले ल्याउने गरेको पाइन्छ।

हाम्रो मातृ पार्टीको विधानले व्यवस्था गरेअनुसार हामी चल्न बाध्य छौं। पार्टीले नयाँ सोचका उर्जावान साथीहरूलाई भन्दा नजिक रहेका साथीहरूलाई स्थापित गर्नका लागि विभिन्न बाहानामा अधिवेशन स्थगित गर्ने विगठित गर्ने गरेका छन्।

पार्टी विगठन गरेपश्चात् हामीले नेतृत्वलाई खबरदारी गर्नेबाहेक अरु केही गर्ने उपाय हुन्न। त्यसैले नेविसंघको नेतृत्व चयनमा पार्टीले टिके प्रथा लाद्न खोजेको जस्तो देखिन्छ। तर पनि हामी खबरदारी गर्न भने छोड्दैनौं।

नेविसंघमा उमेर हदबन्दीको कुरा आइरहेको छ नि ?

नेविसंघको ११औं महाधिवेशन सम्पन्न गर्नुपूर्व विद्यार्थीको नेतृत्व ३२ वर्ष मुनिको हुने छ भनेर हामीले नेविसंघको केन्द्रीय समितिबाट निर्णय गरेका हौं।

नेपाली कांग्रेसका हाल सह–महामन्त्री प्रकाशसरण महतको नेतृत्वमा नेपाली कांग्रेस केन्द्रीय समितिले निर्देशक समिति निर्माण गरेको थियो।

सो समितिले नेविसंघको नेतृत्व ३२ वर्ष मुनिको हुनेछ भनी विधान पारित गरी पार्टी केन्द्रीय समितिमा पेस गरेको थियो। त्यो विधान गरे केन्द्रीय समितिले अनुमोदन गरेपश्चात् उमेर हदको कुरा सोही दिनबाट समाप्त भएको छ।

तपाईं पनि अधिवेशनमार्फत् भन्दा टीका लगाएर आउन रुचाउनु हुन्थ्यो नि हैन?

नेविसंघमा विगत १७–१८ वर्षदेखि निरन्तर कुनै न कुनै ठाउँमा रहेर काम गरेको छु। हालसम्म अधिवेशन र निर्वाचनमार्फत भन्दा बाहिर आएको छैन।

जसले विद्यार्थीको समूहमा आफ्नो संगठनलाई योजना र कार्यक्रमसहित अघि बढाउन सक्छ त्यसले टीका लगाएर आउने कल्पना पनि गर्न सक्दैन। जो विद्यार्थीको बीचमा आफू आफ्नो योजनासहित जान सक्दैन ती व्यक्तिहरू टीका लगाउन रुचाउँछन्।

जब कांग्रेस केन्द्रीय समितिले नै निर्वाचित केन्द्रीय समितिलाई विघटित गर्छ भने हामीले बोल्ने ठाउँ छैन। हाम्रो विधानमा पार्टी केन्द्रीय समितिले ६ महिनाभित्र अधिवेशन गर्न तदर्थ समिति बनाउने भन्ने व्यवस्था छ।

हामी त्योभन्दा बाहिर जान सक्दैनौं। यो नेपाली कांग्रेसका सबै भातृ तथा शुभेच्छुक संघ–संस्थाहरूमा लागू हँुदै आइरहेको छ।

पहिला तपाईंहरू अधिवेशन गर्न लाग्दै हुनुहुन्थ्योे बीचमा के विवाद भएर रोकिएको हो ?

नेविसंघका नेता विभिन्न गुटमा विभाजित छन्, यसलाई लुकाउन मिल्दैन। जसले निर्वाचनमार्फत नेतृत्व लिन सक्दैनन् तिनीहरूलाई अधिवेशन जसरी पनि हुन नदिने र नेविसंघलाई पार्टी नेतृत्वको हातमा पुर्याउनु पर्ने थियो।

एकथरी विद्यार्थीको बीचमा गएर आफ्नो नेतृत्व आफै निर्माण गर्नुपर्छ भन्ने पक्षमा थिएँ। यही बीचमा पार्टी नेताको निर्देशनमा तोकिएको मितिमा अधिवेशन सम्पन्न गर्न खटाइएको प्रतिनिधि नजाने र अनावश्यक बखेडा झिक्न साथिहरू लाग्नुभयो।

त्यसका बाबजुत पनि २२ वटा जिल्लामा अधिवेशन सम्पन्न भई धेरैजसो स्थानीय तह र क्याम्पस तथा विश्वविद्यालयमा अधिवेशन सम्पन्न भएको थियो। यही बीचमा पार्टी केन्द्रीय समितिले हामीलाई अपदस्त गरेपछि हामी अधिवेशनभन्दा बाहिर बस्न बाध्य भयौं।

सबै जिल्ला क्याम्पस र विश्वविद्यालयमा हाम्रो संगठन चलायमान छ। साथै ११ वटा जिल्लामा ११औं महाधिवेशन भन्दा अगाडिका विवाद पनि कायमै छन्।

कांग्रेसमा युवाहरूको भविष्य छैन भनिन्छ नि ?

युवाले आफ्नो भविष्यभन्दा देशको भविष्य हेरेर अघि बढ्ने हो। पुरानो सोच र कार्यशैली बदल्न पाका नेतालाई खबरदारी गर्न जरुरी छ। तत्कालै आफ्नो पद प्राप्त नहुँदा अतालिनु पर्ने स्थित छैन।

कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीमा युवाका लागि प्रयाप्त अवसर छन्। स्थानीय तहदेखि केन्द्रीय नेतृत्वसम्म हेर्दा करिब ४० प्रतिशतको हाराहारीमा नेतृत्वदायी भूमिकामा युवा रहेको पाइन्छ।

सदनमा होस वा सडकमा यिनीहरूको नेतृत्व युवाले अंगालेका छन्। आगामी कांग्रेसको १४औं महाधिवेशनमा अब युवामय हुने कुरामा विश्वस्त छौं र युवामय बनाउन म आह्वान पनि गर्छु।

युवाहरू पनि बुढा नेताकै पछि लागे र आफ्नो मुद्दामा अडिन सकेनन् भन्ने आरोप छ नि ?

मलाई त्यस्तो लाग्दैन। कांग्रेसले संवैधानिक राजतन्त्र आफ्नो विधानबाट बाहिर नल्याउँदै युवाहरूले सडक संघर्षमार्फत नेपालमा राजतन्त्रको सान्दर्भिकता कति ? संवैधानिक राजतन्त्र कि गणतन्त्र ?

भन्ने विषयमा बहस र जनमत सृजना गरेको इतिहास साक्षी छ। कांग्रेसको विधानलाई परिमार्जन गरी संघीय लोकतान्त्रिक गणतन्त्रको बाटोमा डोर्याउने युवाहरू बुढा नेताको पछि लाग्छन् त ?

पछिल्लो समय कांग्रेसभित्र युवाले हस्तक्षेपकारी भूमिका देखाउन नसकेको देखिन्छ नि ?

नेपालको सबैभन्दा पुरानो पार्टी नेपाली कांग्रेसभित्र जनताको निम्ति आफ्नो जीवन उत्सर्ग गर्ने नेताहरू हुनुहुन्छ। उहाँहरूलाई सम्मान र आदार कांग्रेसका युवाले गर्नु जरुरी थियो।

कांग्रेसको यही पुरानो पुस्ताले राणा शासन र पञ्चायती व्यवस्थाको अन्त्य गरे। राजतन्त्रको अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र शासन व्यवस्थाको कार्यान्वयन पछि अहिले नेताहरू विश्राम लिने तरखरमा हुनुहुन्छ।

हामी युग सुहाउँदो जनताको चाहनाअनुरुप योजना र कार्यक्रम लिएर जनताका बीचमा गएका छौं। पुराना नेतालाई तिरस्कार गरेर भन्दा उहाँहरूलाई आदार सम्मान गर्दै हामी नेतृत्वमा पुग्ने हो। हस्तक्षेप गर्ने होइन।

कांग्रेस आफैले जारी गरेको संविधान विरुद्ध जान लागेको हो ? पार्टीभित्र हिन्दुराष्ट्रको कुरा पनि उठिरहेको छ नि ?

नेपाली कांग्रेसले नेपालको संविधान आफ्नै नेतृत्वमा जारी गरेको कुरा सबै जानकार छन्। कांग्रेस लोकतान्त्रिक पार्टी हो। यसमा विभिन्न खाले विचार आउनु र आफ्नो विचार राख्नु स्वभाविक छ।

कांग्रेसले जारी गरेको संविधान विपरीत जान सक्छ भन्ने मलाई लाग्दैन। पार्टी नेतृत्वले आफूलाई नेतृत्वदायी भूमिकामा ल्याउन आफ्ना एजेन्डा बाहिर ल्याएको जस्तो मलाई लाग्छ।

तर, आम कार्यकर्ता र जनताको माझमा गइसकेपछि संविधान विपरीत हिन्दुराज्य, राजतन्त्रलगायतका विषयमा नेपाली कांग्रेस जानै सक्दैन।

देशमा शिक्षाको चरम वेथिति छ, युवाहरू पनि समस्यामा छन्, त्यसको हल गर्ने योजना के छ ?

नेपालको संविधानमा शिक्षाको नीति बनाउने कार्यन्वयन गर्ने विश्वविद्यालयको संरचनामा नेपालको प्रधानमन्त्री कुलपति सहकुलपति शिक्षामन्त्री उपकुलपतिलगाएत पदाधिकारी मन्त्रिपरिषद्ले नियुत्ति गर्छ। यसबाट नेपालको भविश्य कुन बाटोमा जाँदै छ ? यसबाट कस्तो शिक्षा हासिल गर्ने हो ?

त्यसको नेतृत्व गर्ने नेताको उच्च शिक्षा हासिल कहासम्म छ ? यी कुराहरू वुझ्न जरुरी छ। जसले उच्च शिक्षा हासिल गरेकै छैन त्यहि व्यक्ति कुलपति बनाउने पद्धति नै गलत छ।

तसर्थ, यो संविधानमा भएका कुरा फेरबदल गर्न नसके पनि राजनीतिक नियुक्ति गर्ने पदहरू झन्डा र धनसँग किनबेच गरी नियुक्ति गरिने परिपाठीले शिक्षामा परिवर्तन ल्याउन सक्दैन। शिक्षा क्षेत्रको नेतृत्व खुला प्रतिस्पर्धाको माध्यमबाट ल्याउन जरुरी छ।

राजनीतिक भागबन्डाभन्दा माथि उठेर विशुद्ध प्राज्ञिक र योग्य मान्छे ल्याउन पहल गरे यसको निराकरण हुन्छ कि जस्तो लाग्छ।

सरकार गलत बाटोमा हिँडिरहेको कुरा आइरहेको छ। प्रमुख प्रतिपक्षी दल कांग्रेस निरिह देखिन्छ। कांग्रेस किन यति कमजोर भएको ?

कम्युनिस्ट सरकारबाट सुशासन, शान्ति सुरक्षा र दिगो विकास हुँदैन भनेर जनताले निष्कर्ष निकालेका छन्। जनताको अपार सहभागिता र विश्वासबाट निर्माण भएको यो सरकार आज कता अल्मलिरहेको छ ?

यसबाट जनता बिचलित हुन लागेका छन्। देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प खोज्ने अभियानमा केही मानिस तथा समूह लागिसकेका छन्।

यस्तो कुकर्म नरोकिए फेरी मुलुकमा भयावहको अवस्था सृजना हुनसक्छ। कांग्रेस जिम्मेवार प्रतिपक्ष भएको नाताले सरकार बनेकै दिनदेखि विरोध गर्ने बाटोमा नहिँडेको मात्र हो। त्यसका राम्रा र नराम्रा काम कोट्टाएर गुण दोषको आधारमा अब कांग्रेसले जागरण अभियानमार्फत जनतालाई सचेत गराउँदै छ।

यदि कांग्रेसले एकवर्ष अगाडि यो कुरा गरेको भए कमयुनिस्टले देश बनाउथ्ये यिनीहरूले गर्न दिएनन भनेर आरोप लगाउथे। त्यो आरोप खेपिरहनुपर्ने बाध्यता हुन्थ्यो।

भ्रष्ट्राचार र महंगी नियन्त्रण जस्ता सरकारले गर्न नसकेको कामलाई अब कांग्रेसले नियन्त्रणका लागि सडकदेखि सदनसम्म प्रतिवाद गर्छ।

कांग्रेस जागरण अभियानमार्फत सरकारले गरेका कुकर्म र गलत क्रियाकलापको भन्डाफोर गर्दै सरकारलाई सच्चिन दवाव दिइरहको पनि छ।

 

प्रतिक्रिया दिनुहोस्