ढिस्कोमा पुरिएर १ बालकको मृत्यु   


महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–४ मा माटोको ढिस्कोमा पुरिएर आज १ बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दिबास नगरपालिका–४ माईस्थानका १४ वर्षीय निरोज बम्जन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले बताएकाे छ । सोही घटनामा स्थानीयवासी ३८ वर्षीय चन्द्र बल गम्भीर घाइते भएका छन् । उनको उपचार धनुषाको लालगढस्थित मोडेल अस्पतालमा भइरहेको छ । दुवै जना सोही वडामा रहेका खोलामा माटो खनिरहेको क्रममा भिरमाथिबाट खसेको ढिस्कोले पुरिएको थियो ।

घटना घटेलगत्तै घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी टोलीले माटोको ढिस्कोमा पुरिएका बलको उद्धार गर्न सफल भए पनि बालक बम्जनको घटना स्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताका छन् ।