डेंगुरोग नियन्त्रणका लागि अभियान चलाउने नेकपाको निर्णय


यमलाल भुसाल, बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) क्षेत्र नम्बर २ रुपन्देहीले डेंगुरोग नियन्त्रणका लागि प्रभावकारी अभियान चलाउने निर्णय गरेको छ ।

क्षेत्रीय कमिटीको सोमबार बसेको बैठकले डेंगुरोगले महामारीको रुप लिन सक्ने ठहर सहित यसको नियन्त्रणका लागि मातहतका सबै कमिटीलाई परिचालन गर्ने निर्णय गरेको हो ।

डेंगुरोगबारे सचेतना जगाउनेदेखि लिएर खोज र नष्ट गर अभियान समेत चलाउने निर्णय गरेको क्षेत्रीय कमिटीका अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिए ।

त्यसैगरी तिलोत्तमा नगरपालिकाले आयोजना गर्न लागेको लगानी सम्मेलन सफल पार्न मातहतका कमिटीलाई परिचालन गर्ने र संविधान दिवसलाई भव्य रुपमा मनाउने निर्णय समेत बैठकले गरेको छ ।

त्यसैगरी बैठकले संगठीत सदस्यता नवीकरण गर्न क्षेत्रभरी अभियान सञ्चालन गर्ने निर्णय गर्दै नवीकरण नगर्नेलाई कारणसहित जानकारी गराउन पनि आग्रह गरेको छ । सदस्यता नवीकरण अभियानका लागि बुटवल क्षेत्रमा बाबुराम पन्थी, सैनामैनामा खुशीराम चौधरी र तिलोत्तमा १–६ मा मोहन चापागाईंलाई जिम्मेवारी दिइएको छ ।

बैठकले जिल्ला कमिटीबाट प्राप्त सर्कुलर प्रभावकारी ढंगले कार्यान्वयन गर्ने निर्णय गर्नुका साथै क्षेत्र नम्बर २ अन्तर्गत रहेका तर बिगतमा विभिन्न जिम्मेवारीमा रहेर अहिले जिम्मेवारीबिहीन बनेकाहरुको सुची तयार गरी कमिटीमा राख्नका लागि सिफारिश गर्ने निर्णय पनि गरेको क्षेत्रीय अध्यक्ष केसीले जानकारी दिए । बैठकले प्रदेश कमिटीबाट क्षेत्रीय इन्चार्जको रुपमा आएका गोपाल भट्टराई र सहइन्चार्जको रुपमा आएका पुरन गुरुङलाई बधाई पनि दिएको छ ।

बैठकलाई संबोधन गर्दै पार्टीका केन्द्रीय सदस्य लिला गिरीले पार्टी एकताको काम टुंगिइसकेको जानकारी दिंदै अव भावनात्मक एकता गरेर अगाडि बढ्नुपर्नेमा जोड दिर्नु भयो ।

अर्का केन्द्रीय सदस्य दधिराम न्यौपानेले पार्टीलाई सही बाटोमा डोर्याउन पार्टी सदस्यहरुको महत्वपूर्ण भूमिका रहने भन्दै पार्टीले गरेका हरेक निर्णयलाई कार्यान्वयन तहमा लैजान आग्रह गर्नु भयो ।