पैसा त आयो तर खुशी आएन



जमाना बदलिएको छ। समय फेरियो, परिवेश फेरिएको छ। देशमा व्यवस्था बदलिएको छ। स्मार्ट सिटी र व्यवस्थित बासस्थानका नाराहरू घन्किएका छन्। गाउँ–गाउँ, बस्ती–बस्तीमा मोटरबाटो पुर्याउने होड छ।

डोजर चलेका चल्यै छन्। गाउँ–गाउँमा सिहंदरबार, घर–घरमा रोजगारको चुनावी नारा नेताले नबिर्सिए केही होला भन्ने झीनो आशा पनि छ। भ्रष्टाचार शून्य गराई सुखी नेपाली र समृद्ध नेपालीको सपना देखिएको छ।

मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरले दुर्गम गाउँहरूलाई सुगम बनाएका छन् भने रेलवेको चर्चा पनि उस्तै चल्ने गरेको छ। पानीजहाजको कार्यालय स्थापना भैइसकेको छ।

यसै गरी गाउँ–गाउँमा पहिला भेडा, खच्चड हुन्थे भने अहिले मोटरएबल पुलसहित पक्की बाटा बन्न थालेका छन्। अस्पताल पनि बनेका छन्। खानेपानी र शिक्षा पनि राम्रै छ।

जसले गर्दा शहरको सुविधा र अवसर गाउँमै पुर्याएको छ। तर गाउँ, गाउँजस्तो छैन। गाउँले गाउँले जस्ता छैनन्।
देशमा आएको ठूलो बदलावसँगै गाउँलेका रहर र सपनामा पनि उस्तै बदलाव आएको छ। तरुण तन्नेरी १० पास गरे गाउँ छाड्न खुट्टा उचालिसकेका हुन्छन्। १२ पास गरे परदेशतिर लम्किनेको ताँती छ।

यस्तो लाग्छ, यी सबै परिदृश्य आँखैअघि देख्दा ती पुराना गाउँहरू, अहिलेका गाउँ होइनन्। गाउँ त छ सुन्दर, तर मान्छै छैनन्। काम गर्ने युवा छैनन्। २० वर्षपहिला जसले हलो चलाउँथे। उनै आज पनि हलो बोक्छन्। उनै आरन चलाउँछन्। तर अहिलेका युवाले यस्तो गर्न छाडे।

बागलुङ सरदुमकामसँगै जोडिएको काठेखोला गाउँपालिकाको बिहुँ करलिम यस्तै प्रतिनिधि गाउँ हो। जहाँ रेमिट्यान्स र फेरिएको जीवनशैलीले कति भयानक दुःख र कहर लिएर आउँछ भन्ने छर्लंग देखिन्छ। अहिलेको युवा पुस्तामा सर्वत्र सुखसयलको जिन्दगी रेमिट्यान्सले दिलाउने भ्रम छ।

करिब साठी घरधुरी भएको करलिमका तीन सय जना जापानमा छन्। यो गाउँ पुग्दा तन्नेरी मान्छे भेटाउनै मुस्किल पर्छ। जुन टोल र घरमा जानुस्, कपाल सेताम्य फुलेका बूढा बाआमा मात्र भेटिन्छन्।

कति लौरी टेक्दै खेतबारी र गोठमा काम गर्दै गरेका त कति रोगी शरीर लिएर घरको पेटी र आँगनमा हेरचाह गर्ने, स्याहार सुसार गर्ने छोराछोरीको हातको न्यानो स्पर्श पर्खिरहेका हुन्छन्।

बुढेसकालमा आमा बा भनेर बोलाएर के भयो ? पानी पिउनुहुन्छ भनेर एक बचन सोध्ने सन्तानको अभावमा अनायासै आँखाबाट आँसु बर्सिन्छन्, जति बेला छोरा बुहारी सबै परिवार परदेशी भूमिमा काममा व्यस्त हुन्छन्।

सबै कुरा पैसा ठान्ने जमाना आयो। तर पैसा मात्र सबथोक होइन रहेछ भन्ने यी गाउँका बूढा आमाबालाई गहिरो महुसुस छ। अहिले एक घरमा कम्तीमा महिनाको ३ लाख रेमिट्यान्स आउँछ। अधिकाशंको चितवन, पोखरा र बागलुङ बजारमा घर छ।

उनीहरू एकै स्वरमा भन्छन्– ‘पैसा त आयो, तर खुशी र सन्तुष्टि आएन, पैसाले हामीलाई हेर्दैन, हेर्नका लागि बाआमा भनेर बोलाउनका लागि सन्तान नै चाहिन्छ।’

गाउँमा रहेका वृद्ध बुबा–आमाको स्याहारसुसारमा जे–जति अभाव खड्किए पनि शहर झर्ने र परदेश जानेमा सहमत छैनन्। गाउँ र त्यो उर्बर माटोप्रतिको अगाध स्नेह उनीहरूको यथावत् छ।

पुराना मानिस उमेरले बुढ्यौली लागे पनि आफू जन्मेहुर्केका थातथलो छोड्न कदापि तयार छैनन्। बरु उनीहरू सन्तान भविष्यका लागि आफ्ना बुढेसकालका पीर, व्यथा लुकाउन चाहन्छन्। यो समस्या बुढेसकाल लागेका बाआमाहरूको मात्र होइन, यो ती तमाम गाउँहरूको हो।

जसको प्राकृतिक छटा, त्यो चिसो हावापानीमा स्वच्छन्द जिन्दगी बाँच्ने सौभाग्य छोडेर रेमिट्यान्स रहरमा विलासिताको शहर दुनियाँको शौख बन्दै छ। जसका कारण दैनिक गाउँ रित्तिने जोखिम छ। अब के गाउँहरू गाउँ नरहेर वृद्धाश्रमजस्तो बन्न थालेका छन् ?

के यो रोक्न सकिने उपाय मात्र होइन, तमाम युवाहरूमा त्यो विवेक, उत्तरदायित्व र जिम्मेवारी केही हुँदैन ? अब गाउँका वृद्ध बुबा–आमा यो प्रश्नको जवाफको प्रतीक्षामा छन्।

– कविता निउरे, बाग्लुङ।

 

प्रतिक्रिया दिनुहोस्